काठमाडौं, ११ साउन – आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रुपमा प्रस्तुत गर्दै आएका साझा पार्टी र विवेकशील नेपाली दल एक भएका छन्। बुधबार नयाँ बानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गरेर एकताको घोषणा गरेका हुन् । एकता घोषणापत्रमा साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका संयोजक उज्जवल थापाले हस्ताक्षर गरेका छन्।
शुमेच्छुकहरुको दबाब र दुवै तर्फका नेताहरुको निरन्तरको सम्वादपछि एकता संभव भएको हो। सामूहिक नेतृत्वको अवधारणाअनुसार अघि बढ्ने सहमतिअनुसार तदर्थ नेतृत्व संरचना बनाइएको छ। एकतापछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ।
एकतापछि साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका संयोजक उज्जवल थापा दुवै सहसंयोजक बनेका छन्। बैठकको अध्यक्षता मिश्रले गर्ने समझदारी भएको छ। महाधिवेशन गर्नुअघि पार्टी नेतृत्वका लागि दुई तहको तदर्थ संरचना तय गरिएको छ। हाइकमान्डका रुपमा आठ सदस्यीय संयोजन समिति बनाइएको छ र केन्द्रीय समिति पनि छ भने प्रदेश स्तरमा पनि संरचना तयार गरिनेछ।
हाइकमान्डको रुपमा रहने संयोजन समितिमा साझाबाट रविन्द्र मिश्र, मुमाराम खनाल, डा. सूर्यराज आचार्य र निरुपमा यादव छन् भने विवेकशीलबाट उज्जवल थापा, अनुशा थापा, डा. गोविन्द नारायण तिमिल्सिना र रमेश पौडेल छन्। २६ सदस्यीय केन्द्रीय समितिमा दुवैतर्फबाट १३-१३ प्रतिनिधि रहेका छन्।
केन्द्रीय सदस्यमा अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईं, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभित परियार र ज्ञानेन्द्र निरौला छन्। बाँकी ४ जना केन्द्रीय सदस्य चयन गर्न बाँकी छ।
शुभेच्छुकहरुको दबाब र दुवै पक्षका नेताहरुको निरन्तरको संवादपछि एकता संभव भएको हो। एकतापछि बल्ल पार्टीको विधान, राजनीतिक प्रतिवेदन र घोषणापत्र तयार हुनेछन्। दुई वर्षमा महाधिवेशन गर्ने सहमति भएको छ। एकतापछि साझा विवेकशील पार्टीले संगठन निर्माणलाई अभियानका रुपमा अघि बढाउने भएको छ।
पार्टी एकिकरण कार्यक्रममा बोल्दै रवीन्द्र मिश्रले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुकको मुल्य मान्यतालाई आत्मसाथ गरी देश विकासमा लाग्ने विश्वास व्यक्त गरे। मिश्रले आफ्रनो पार्टीको सक्रियतामा सन् २०३० सम्ममा नेपाललाई न्युन आयबाट मध्यम आयमा लगिने पनि बताए। त्यसैगरी उज्वल बहादुर थापाले देशलाई आर्थिक विकास र संवृद्धि गर्नको लागि पार्टी एकता भएको स्पस्ट पारे।