काठमाडौं, १४ साउन – काठमाडौंको नयाँबस्तीमा चिया पसलको नाममा कोठी चलाउने १६ जनालार्इ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धले नयाँबस्ती र नारायणटारमा सञ्चालित तीनवटा त्यस्ता चियापसलको नाममा वेश्यावृति गराउँदै आएका तीनवटा पसलमा छापा हान्दा १६ जनालार्इ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तीन जना कोठी सञ्चालक, आठ जना वेश्यावृतिमा संलग्न युवती र पाँच जना ग्राहक रहेको बौद्ध वृतका प्रहरी नायब उपरीक्षक अच्युत पुडासैनीले जानकारी दिएका छन् ।
पुडासैनीका अनुसार कोठी सञ्चालकहहरु निमा तामाङ, सुवास केसी र प्रकाश भुजेल रहेका छन् । उनीहरुमाथि मानव बेचबिखनको मुद्दामा कारबाही अघि बढाइएको नायब उपरीक्षक पुडासैनीले बताए ।
वेश्यावृतिमा संलग्न युवती गरिब घरपरिवारका भएको र उनीहरुलार्इ रोजगारीको प्रलोभनमा विभिन्न जिल्लाबाट काठमाडौं ल्याएर वृश्यावृतिमा लगाइएको प्रहरीले जनाएको छ । तर, उनीहरुले भने राजीखुशीमै यस्तो पेशामा लागेको भन्दै सञ्चालकविरुद्ध उजुरी दिन मानेका छैनन् ।
उनीहरुले सञ्चालकविरुद्ध उजुरी दिएमा एकातिर रोजीरोटी खोसिने डर छ भने अर्कोतिर सञ्चालकले जे पनि गर्न सक्छ र काठमाडौंमा अलपत्र पर्ने चिन्ता छ । यसैकारण पनि उनीहरुले उजुरी दिन नमानेको हुनसक्ने प्रहरीले जनाएको छ ।