डा.गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा रिले अनशन सुरु

‘डा. केसीको अनसन, माफियालाई टेन्सन’

काठमाडौं, १४ साउन – आमरण अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘डा. केसीको अनसन, माफियालाई टेन्सन’, माफियाहरु देश घेर्दै, ६०१ ले के हेर्दै ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीको समर्थनमा रिले अनशन सुरु भएको छ । शनिबार सोलिडारिटी फर डा.केसी एलाइन्स आयोजना गरेको डा. केसीको समर्थनको वृहत्त प्रदर्शनपछि समर्थकहरुले रिले अनशन सुरु गरेका हुन् ।

डा. केसीले अघि सारेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण एवं खबरदारी गर्न समर्थकहरुले रिले अनशन सुरु गरेका हुन् । सरोज खनाल, विधान आचार्य, नवाङ बास्ताकोटी, यज्ञ ढकाल, विक्रम केसीलगायतका व्यक्तिहरु शनिबार अनशन बसेका छन् ।

चिकित्सा क्षेत्रको विकृति हटाउन ११ औं पटक अनशन सुरु गरेका डा. केसीको माग सम्बोधनका लागि भन्दै सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबार केसीका प्रतिनिधिसँग वार्ता गरेको थियो ।

तर केसीका माग संसद तथा त्रिविसँग सम्बन्धित भएको भन्दै शनिबार पुनः वार्ता गर्नेगरी वार्ता टुंगिएको थियो । शनिबार भने वार्ता हुन सकेको छैन । डा. केसीले माथेमा प्रतिवेदनअनुसार आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन संसद्बाट पारित हुनुपर्ने माग राखेका छन् ।

गत हप्ताको सोमबार अनशन सुरु गरेका केसीको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै समर्थकहरुले तत्काल केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा गर्नु पर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार