भरतपुर–१९ वडामा पुन मतदान गराउने सर्वोच्चको आदेश

काठमाडौं, १५ साउन – सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गर्ने फैसला गरेकाे छ । निकै लामो समयको विवादपछि आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उक्त वडामा पुनः मतदान गर्ने फैसला गरेको हो ।

स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा गत जेठ १४ गते भरतपुर–१९ मा माअाेवादी केन्द्रका प्रतिनिधिहरुले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आइतबार सर्वोच्चमा बहस सकिएको हो । न्यायाधीशद्वय मिश्र र भण्डारीको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भएको हो । गत बिहीबार सरकारी वकिलको बहस सकिएकाे थियाे । आइतबार रिट निवेदक पक्षका वकिलले जवाफी बहस गरेका थिए ।

भरतपुरमा मतगणना हुँदाहुँदै माओवादी प्रतिनिधिहरुले मतपत्र च्यातेपछि विवाद शुरू भएको थियो । विवादपछि मतगणना स्थगित भयो। निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो। आयोगको त्यही निर्णयविरुद्ध पुनः मतदान होइन पुन मतगणनाको माग गर्दै भरतपुर–१९ का वडा सदस्य उम्मेदवार गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।

भरतपुरमा निर्वाचन आयोग सत्ताको प्रभावमा परी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउन लागिपरेको रिटमा आरोप लगाइएको थियो ।

कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो । माओवादीका प्रतिनिधिले १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातेका थिए । २० नम्बरको वडाको भने मत गणना सुरु नै भएको छैन ।

यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालबीच ७८४ मतको अन्तर थियो । १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो ।

मतगणना स्थगित भएपछि निर्वाचन आयोगले सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो । उक्त टोलीले त्यहाँ ९० वटा मतपत्र च्यातिएको यकिन गरी प्रतिवेदन बुझाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार