सञ्चार क्षेत्रमा नमुना काम गर्ने दृढता : मन्त्री बस्नेत

काठमाडौं, १७ साउन – नवनियुक्त सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चार क्षेत्रको विकासका लागि आफूले नमुना काम गर्ने दृढता राखेका छन् । उनले त्यसका लागि सञ्चार माध्यमसँगै सहकार्य गर्ने र आपसी संवादले यस क्षेत्रका वर्तमान समस्या हल गर्ने समेत बताए ।

‘अनुकरणीय काम गर्नका लागि यो मलाई अवसर हो’, राजधानीको विजुलीबजारस्थित सञ्चार केन्द्र उदघाटन गर्दै मन्त्री बस्नेतले भने । उनले आफू ‘एक्सन’ मा जान मनपराउने शैलीको जनाउ दिंदै मुलुक र सञ्चार जगतका लागि मात्र नभै आफ्नै भविष्यका लागि पनि नमुना काम गर्ने दोहोर्‍याएका थिए । ‘कतिपय कुरा सिक्दै छु । विज्ञ पत्रकारद्वारा म सल्लाह पनि लिंदैछु’, उनले भने । उनले आगामी निर्वाचनमा सञ्चारमाध्यमले सत्य, सन्तुलित र स्वतन्त्र भूमिका देखाई सहयोग गर्न आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले संविधानको सही कार्यान्वयनका लागि प्रदेश र संघीय निर्वाचन समयमै हुनुपर्नेतर्फ सरकारको ध्यान पुग्नुपर्ने बताए । ‘हाम्रो तर्फबाट चुनाव सफल बनाउन रचनात्मक भूमिका हुनेछ’, विष्टले भने ।

एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले तराई आन्दोलनका क्रममा कतिपय मिडिया दुरुपयोग भएका र आन्दोलनलाई अतिरञ्जित बनाइएकोले त्यसतर्फ सजग हुनुपर्ने धारणा राखे ।

प्रेस युनियनका नेता दामोदर दवाडी, प्रेस सेन्टरका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, सञ्चार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंसहितले चुनावमा सञ्चारमाध्यमको भूमिकाबारे बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार