मेजर सृष्टि बनिन् नेपाली सेनाको पहिलो महिला गुल्मपति

काठमाडौं‌ : यतिबेला सैनिक वृत्तमा मेजर सृष्टी खड्काको चर्चा चलेको छ। पहिलो महिला गुल्मपति बनेर फिल्ड जिम्मेवारी समालेकोमा उनको चर्चा चलेको हो। नेपाली सेनामा गुल्मपति बन्‍ने उनी पहिलो महिला अधिृकत हुन्। सेनाले महिलाहरुलाई मात्र समेटेर पहिलो पटक स्थापना गरेको गोरखकाली गुल्मको प्रमुखमा सृष्टिलाई खटाइएको हो।

यसअघि उनी सेवादलमा कार्यरत थिइन्। सृष्टि ४६ बेसिककी अधिकृत हुन्। दरो आत्मविश्‍वास र फिल्डमा उनले देखाएको साहसिक भूमिकालाई कदर गर्दै उनलाई यो महत्वपूर्ण जिम्मेवारी दिइएको हो। गोरखकाली गुल्म उपत्यका पृतनाअन्तर्गत रहेको छ।सामान्यतया: सेनामा स्टाफ कलेज पुरा गर्नेलाई मात्र गुल्मपति दिने चलन थियो । महिला गुल्मको हकमा भने त्यो नियम बाधक बनेको छैन।

सृष्टिलाई फिल्ड कमान्डर बनाएर जंगीअड्डाले काम गर्न चाहने उत्साही महिलाका लागि सेनामा राम्रो सम्मान र  अवसर रहेको सन्देश दिएको छ। महिला सहभागितालाई प्रोत्साहित गर्ने र समावेशीताको सिद्धान्तलाई सम्मान गर्न यस्तो निर्णय गरिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले नेपाल तारासँग बताए। विशेष अवस्थामा गणपति र गुल्मपति राम्रा र उत्कृष्ट काम गरेका नन स्टाफ कलेज सैनिक अधिकृतलाई पनि दिने चलन रहेको प्रवक्ता कडायतले स्पस्ट पारे ।

सृष्टिले राजदल गण हुँदै सेनाको मनोवैज्ञानिक शाखा,सुदुरपश्चिम पृतना मुख्यालय र राष्ट्रिय सेवा दलमा काम गरिसकेकी छिन्। मेजर खड्कासँग राष्ट्र संघीय शान्‍ति स्थापना मिसनका लागि सुडानमा समेत काम गरेको अनुभव छ ।

पछिल्लो समयमा सेनाले महिलाको सहभागितालाई भर्ना र वृत्ति विकासमा पनि प्रोत्साहित गर्दै आएको छ। करिव ९६ हजारको हाराहारीमा रहेको नेपाली सेनामा हाल महिलाको संख्या पाँच हजारको हाराहारीमा रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार