साउन २० गते भरतपुर १९ वडाको चुनाव गर्ने निर्णय, च्यातिएका मतपत्र जलाईँदै

काठमाडौं १७, साउन – चितवनको भरतपुर महानगरपालिका वडा न‌‍‌ –१९ मा पुनः मतदानको मिति तोकिएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले साउन २० गते शुक्रबार पुनः मतदान गर्ने निर्णय गरेपछि मुख्य निर्वाचन अधिृकत कविराज न्यौपानेले निर्वाचनको मिति घोषणा गरेका हुन् ।

निर्वाचनको मिति तोकिएसँगै मौन अवधिसमेत सुरु भएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृत न्यौपानेले मिति घोषणा गरेसँगै मौन अवधि सुरु भएको हो ।

मौन अवधिमा सभा, सम्मेलन तथा प्रचार प्रसार गर्न नपाईने व्यवस्था छ । यसअघि सर्वोच्च अदालतले पुनः मतदान गर्ने फैसला गरेपछि मेयर उम्मेदवारहरुले सोमबारदेखि नै निर्वाचनको प्रचार प्रसार थालेका थिए ।

पुनः मतदानको मिति तोकिएसँगै वडा नम्बर १९ मा च्यातिएका मतपत्र मंगलबार नै जलाईने भएको छ । गत वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा भरतपुर –१९ मा जेठ १४ गते ९० वटा मतपत्र च्यातिएका थिए ।

माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि त्यहाँ लामो समयको अन्योलपछि पुनः मतदान हुने भएको हो । यसअघि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरे पनि अदालतमा मुद्दा परेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

पुनः मतदान गर्ने निर्णय खारेज गर्न माग गर्दै परेकाे रिट सर्वोच्च अदालतले आइतबार खारेज गरी पुनः मतदानको निर्णय सदर गरेको थियो ।

भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल र नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीबीच मुख्य प्रतिस्पर्धा रहेको छ । रेणु दाहाललाई नेपाली कांग्रेसको समर्थन रहेको छ ।

वडा नम्बर १९ मा मतदान भइसकेपछि अब १९ र २० नम्बर वडाको मतगणना सँगै हुने भएको छ । २० नम्बर वडाको मतगणना सुरु नै नभएको अवस्था छ । १९ नम्बर वडाको मतगणना अन्तिम अवस्थामा पुगेका बेला मतमत्र च्यातिएको थियो । भरतपुर महानगरपालिकामा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार