भरतपुर–१९ मा पुनः मतदान, व्यापक सुरक्षाकर्मी परिचालन

काठमाडौं, १९ साउन – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा शुक्रबार (भोलि) पुनः मतदान हुँदैछ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।मतदानस्थलको १०० मिटर वरपर निषेधित क्षेत्र घोषणा गरी मतदानलाई शान्तिपूर्ण बनाउने तयारी पूरा भएको घिमिरेले जानकारी दिए । बिहीबार बिहानैदेखि वर्षा भएपनि चुनौतीका बाबजुद् तयारी पूरा भएको छ ।

शुक्रबार पनि वर्षा हुनसक्ने सम्भावना रहेकाले मतदानस्थलमा टेन्ट राखेर पानीको प्रभाव नपर्ने व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । वर्षाले नारायणगढ–मुग्लिन सडकखन्डमा पहिरो खसेपछि काठमाडौं र अन्य स्थानबाट आउने मतदातालाई भने समस्या परेको छ ।

भरतपुर–१९ मा तीनओटा मतदानस्थलमा ६ ओटा मतदान केन्द्र कायम गरिएको छ । ती मतदान केन्द्रमा जम्मा ४ हजार ७९७ मतदाता रहेका छन् । वैशाख ३१ गते भएको निर्वाचनकाक्रममा यो वडाबाट २ हजार ८९७ मत खसेको थियो ।

गत जेठ १४ गते राति मतगणनाकाक्रममा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातीदिएपछि सर्वोच्च अदालतको आदेशअनुसार १९ नम्बर वडामा शुक्रबार पुनः मतदान गर्न लागिएको हो । भरतपुरको मेयरमा नेपाली कांग्रेस र माओवादी केन्द्रका रेणु दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच प्रतिस्पर्धा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार