विदेशबाट सुन ल्याउने सांसद भन्सारको नियन्त्रणमा, भन्छिन्- ‘ल्याउन नहुने थाहै थिएन’

काठमाडौं, १९ साउन – कुख्यात अपराधी चार्ल्स शोभराजले नेपालको विमानस्थलबाट आवश्यक परे हात्ती नै छिराइदिन्छु भनेपछि तहल्कै मच्चिएको थियो। शोभराजको भनाई नेपालको विमानस्थल र अध्यागमन सुरक्षाका लागि तीतो व्यङ्ग्य थियो। तर, त्यही हात्ती छिराउन सकिने अन्तर्राष्ट्रिय विमानस्थलमा बहालवाला एक सांसद्को भने ६० ग्राम सुन नै अड्कियो।


३३ किलो सुन प्रकरणपछि सानोतिनो परिणामका सुन विमानस्थलमा नियमित जसो समातिन्छन्। यही सिलसिलामा मंगलबार साँझ ५ बजे एक बहालवाला सांसद् भन्सार कर्मचारीको नियन्त्रणमा पुगिन्। युरोप भ्रमणबाट फर्किएकी ती सांसद्को साथमा थियो ६० ग्राम काँचो सुन। उनी थिइन् राष्ट्रिय प्रजातन्त्र पार्टीकी शयन्द्र बान्तवा।

पहुँचका आधारमा सांसद् छुटिन्। तर, उनको जफत भएको सुनको धरौटी के हुने राजस्वले स्पस्ट पार्न सकेको छैन।अवैध रुपमा काँचो सुन लिएर आएकी ती सांसदमाथि कुनै कारबाहीको प्रक्रियासमेत अघि बढेन्।

सांसद् वान्तवाले विमानस्थलको भिभिआइपी कक्ष प्रयोग गर्न सक्थिन्। तर, उनी सर्वसाधारणले प्रयोग गर्ने कक्षबाटै आइन्। बाहिरिने क्रममा भन्सार चेकजाँच भयो। चेकजाँचमा उनी सुनसहित पक्राउ परिन्।

साढे दुई घन्टासम्म उनीमाथि केरकार भयो। भन्सार प्रमुख नारायण सापकोटाले बान्तवालाई थप कारबाहीका लागि पठाउने निधो गरे। तर, त्योभन्दा अघि अर्थ मन्त्रालयमा सम्पर्क गरे। तत्कालै घटनाको जानकारी संसद् सचिवालयमा पुग्यो। संसद् सचिवालयका कर्मचारीले संसद् अधिवेशन चलिरहेका बेला सांसद्लाई पक्राउभन्दा पहिले सभामुखलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था सम्झाए।

पक्राउ गर्नु पर्ने अवस्था भए तत्काल सभामुखलाई लिखित जानकारी दिन सचिवालयका कर्मचारीले सझाव पनि दिए। दुई घन्टाको अवधिमा घटनामा राजनीतिक रङ पनि भरियो। करिब ७ बजे सांसद् छुटिन्। तर, उनको सुन जफत भयो। सुन भन्सार कार्यालयले नियन्त्रणमा लियो। सांसदमाथिको कारबाही अनिश्चितमात्र भएन घटना नै गुपचुप राखियो।

के भन्छिन् बान्तवा?

बान्तवाले आफूले थोरै सुन मात्र लिएर आए पनि विमानस्थलमा आएपछि समस्यामा परेको स्वीकारिन्। ‘मलाई समस्या पर्‍यो र धेरै कुरा देख्न पाएँ,’ वान्तवाले भनिन्, ‘सर्वसाधारणले धेरै दुःख पाइरहेका रहेछन्। त्यसलाई  सुधार गर्न जरुरी छ।’

उनले सांसद् भएका कारण आफू छुटे पनि समान्य मानिस नजानेरै धेरै सम्पत्ति गुमाउनु पर्ने र दुःख पाउने अवस्थामा रहेको बताइन्।
‘मैले नै थाहा नपाएर सुन ल्याएकी थिएँ, अब सर्वसाधारणलाई त्यसबारे जानकारी छ होला जस्तो मलाई लाग्दैन,’ वान्तवाले भनिन्, ‘जब कुनै नियम बनाएको सूचना पर्याप्त प्रचार नगरी कार्न्वयन गरिन्छ भने त्यबाट जनताले पाउने दुःखको जिम्मा कसले लिने?’

उनले आफूले ल्याएको सुन भन्सारकै नियन्त्रणमा रहेको भन्दै त्यो आफूलाई फिर्ता हुने नहुनेबारे जानकारी नभएको बताइन्।

उनले तस्करी रोक्नु राज्यका निकायको दायित्व नैं भएकाले तस्करी रोक्न सांसदको भूमिकामा सहयोग गर्ने भन्दै सर्वसाधारणले भने दुःख पाउन नहुने बताइन्। ‘तस्करी नियन्त्रणका लागि नियम बनाउनु र कार्यान्वयन गर्नु राम्रो कुरा हो। तर त्यो कुरा सबैले थाहा पाउनेगरी सूचना प्रचार हुनु आवस्यक छ,’ वान्तवाले भनिन्, ‘तस्करी र सर्वसाधारण छुट्टयाउने र सर्वसाधारणले दुःख नपाउने अवस्था निर्माण गर्नुपर्छ।’

के छ कानुनमा ?

तस्करी भएको जनाउँदै सरकारले काँचो सुन ल्याउन प्रतिबन्ध लगाएको एक वर्ष नाघिसकेको छ। भन्सार ऐनमा रहेको निजी गुण्टा झिटी भारी सम्बन्धि व्यवस्थामा परिवर्तन गर्दै पोहोर साउन १ देखि काँचो सुन ल्याउन प्रतिबन्ध लगाइएको हो। विदेशमा ६ महिना बसेका नेपालीले त्यसअघि ५० ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार