देशभर स्वाइन फ्लुको सन्त्रास, चिकित्सक भन्छन् – स्यालहुइँया मात्रै !

पछिल्लो सात महिनाको अवधिमा स्वाइन फ्लूको संक्रमणबाट ६ जनाको ज्यान गएको छ । ज्यान जाने मध्ये ४ जनाको काठमाडौंमै निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बाँकी दुई जनाको काठमाडौं बाहिर निधन भएको लोकान्तरलाई बताए ।

तर बाहिर हल्ला गरिएजस्तो स्वाइ फ्लूको संक्रमण भयावह नभएको उनले दावी गरे । ‘स्वाइन फ्लू स्याल हुइँया मात्रै भएको छ, खासमा यो कुनै किसिमको रोग नै होइन,’ उनले लोकान्तरसँग भने, ‘मौसमी रुघाखोकीका विरामी मात्रै बढेका हुन्, कुनै कुनै विरामी अली बढी संक्रमण देखिएको मात्रै हो ।’

स्भावैले यो मौसममा रुघाखोकी तथा ज्वरोका विरामीहरू बढ्ने आचार्यले बताए । ‘रुघाखोकी वा ज्वरो भएका विरामीले घरमै सञ्चो होला भनेर बस्नु भएन,’ उनले भने, ‘सामान्य औषधी चलायो भने रुघाखोकी र ज्वरो दुबै निको हुन्छ ।’

ज्वरो र रुघा खोकीकै विरामीमा स्वाइन फ्लू देखिने गरेको उनले बताए । रुघाखोकी र ज्वरोको लागि आवश्य औषधी समयमै सेवन गरेमा स्वाइन फ्लूको संक्रमण नहुने उनले बताए ।

अहिले स्याङजाको वालिङमा ज्वरोका विरामीहरु बढेको उनले बताए । वालिङमा उपचार गराएका मध्ये पाँच जनामा केही फरक प्रकृतिको संक्रमण देखिएको भएपनि उनीहरुलाई औषधीले काम गरिसकेको उनले बताए ।
टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले पनि बाहिर हल्ला भएजस्तो स्वाइन फ्लूको संक्रमण नबढेको बताए ।

‘यो मौसमी रुघाखोकी मात्रै हो डराउनु पर्दैन, तर रुघा खोकी वा ज्वरो आएमा चाहिँ समयमै उपचार गराउनुपर्छ,’ उनले लोकान्तरसँग भने, ‘समयमै उपचार गराएन भने छातिको समस्या हुनेहरुको ज्यान जान पनि सक्छ ।’

स्वास्थ्य मन्त्रालयका अनुसार रुघाखोकीका विरामी मध्ये ८३ जनामा स्वाइन फ्लूको संक्रमण देखिएको छ । सामान्य औषधी सेवन पछि उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार