भरतपुर १९ वडामा ७५.५८ प्रतिशत मतदान, मतगणनास्थलमा कडाइ

चितवन, २० साउन – भरतपुर महानगरपालिका वडा नम्बर १९ मा ७५.५८ प्रतिशत मतदान भएको छ । तीनवटा मतदानस्थलका ६ वटा केन्द्रमा गरी २ हजार ८७० मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।

किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २ सय ४८ मतदाता मध्ये ९५३ मत खसेको छ । जीवनज्योति स्कूल गुञ्जानगरमा १ हजार ३ सय ६ मतदाता मध्ये १०१४ मत र शारदानगर माविमा एक हजार २ सय ४३ मध्ये ९०३ मत खसेको छ । यो वडामा कुल ३ हजार ७ सय ९७ मतदाता छन् । यसअघि बैशाख ३१ गते भएको निर्वाचनमा वडा नम्बर १९ मा २ हजार ८ सय ६० मत खसेको थियो ।

पहिलो चरणको निर्वाचनमा भरतपुरको १९ को मतगणना भइरहँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि सर्वोच्चको आदेश अनुसार आज पुनः निर्वाचन भएको हो । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

मतगणनास्थलमा सीसी टीभी र तारजाली

मतगणना आजैबाट सुरु गर्ने तयारी गरिएको छ । यद्यपी सर्वदलीय बैठक बस्न भने बाँकी छ । गत जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएको कारण यसपटक मतगणनास्थलमा सीसी टीभी र तारजालीको व्यवस्था गरिएको छ ।

दलीय प्रतिनिधिहरुको गतिविधिलाई निगरानी गर्नका लागि सीसीटीभी जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए । मतगणनामा सहभागी हुने दलका प्रतिनिधिको पहुँच मतपत्रसम्म नहोस् भन्नका लागि तार जाली समेत लगाइएको छ ।

वडा नम्बर १८ को गणना सकिदासम्म देवी ज्ञवाली माओवादी कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि छन् ।भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, १० वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् ।

२७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेको तर्फबाट मेयर उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी-कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ । महानगरको वडा नम्वर २० को ३ हजार ३ सय २ मत गणना गर्न बाँकी नै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार