चितवन, २१ साउन – भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । एमालेका देवी ज्ञवालीलाई २०२ मतले हराउँदै दाहाल मेयर निर्वाचित भएकी हुन् । उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।
भरतपुर महानगरपालिकामा कांग्रेस-माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् । एमालेबाट देबी ज्ञवाली मेयर र दिव्या शर्मा उपमेयरको उम्मेदवार थिए ।
भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल र उपमेयरमा पार्वती शाह विजयी भएका छन् । स्थानिय निर्वाचन भएका ५ वटा महानगरमध्ये मेयर र उपमेयर दुबै पदमा महिला निर्वाचित भएको भरतपुर महानगरपालिका मात्रै हो ।
माओवादी–कांग्रेस गठवन्धनका उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०३ मत अन्तरले पराजित गरिन् । दाहालले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत ल्याएर जित हात पार्दा एमालेकी दिब्य शर्मा आचार्यले ३९ हजार ५२५ मत ल्याइन् ।
भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो ।
कुन दलले कति वडा जिते ?
भरतपुर महानगरपालिका २९ वटा मध्ये १४ वटा वडा एमालेले जितेको छ । एमाले बहुमत वडा जित्नबाट चुकेको छ । यस्तै, १२ वटा कांग्रेसले र ३ वटा वडा माओवादीले जितेको छ ।
महानगरको वडा नम्बर २, ४, ५, ७, ९, १०, ११, १२, १६, २२, २३, २४, २८ र २९ एमालेले जितेको छ । कांग्रेसले १, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७ नम्वर वडा जितेको छ । माओवादीले १३, २५ र २६ नम्वर वडा जितेको छ ।
कांग्रेस र माओवादी कार्यकर्ताहरु विजय जुलुस निकाल्ने तयारि गरिरहेका छन् ।