ललितपुरमा प्रहरीको इन्काउन्टरबाट एक जनाको मृत्यु

काठमाडौं, २३ साउन –ललितपुरको कुसुन्तीमा प्रहरीको इन्काउन्टरबाट एक जनाको ज्यान गएको छ । लागु औषध कारोवारी प्रविण खत्रीको प्रहरी इन्काउन्टरमा ज्यान गएको हो । यसअघि प्रहरीले खत्रीको आफैंले चलाएको पेस्तोलले लागेर ज्यान गएको बताएको थियो । तर प्रहरी स्रोतका अनुसार उनको प्रहरी इन्काउन्टरमा ज्यान गएको हो ।

लागुऔषध तस्कर भएको सूचनाको आधारमा महानगरीय अपराध अनुसन्धान ब्युरोको टोली सोमबार दिउँसो उनको घर खानतलासी गर्न गएको थियो । प्रहरीलाई देखेपछि घरको छतबाट हामफालेर भाग्दै केही पर पुगेका प्रवीणमाथि प्रहरीले चलाएको गोली लागेको थियो । प्रवीणले घरबाटै दुईओटा पेस्तोलले प्रहरीलाई ताक्दै भागेको र आफैंलाईसमेत ताकेको दाबी प्रहरीले गरेको छ ।

दाहिने कन्चटमा गोली लागेका २४ वर्षीय प्रवीणलाई उपचारका लागि पाटन अस्पताल पुर्‍याइएपछि उनको अस्पतालमा मृत्यु भएको हो ।मृतक प्रवीणका पिताले भने आफ्नो छोरामाथि शंका भए पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा प्रहरीले सोझै गोली हानेको आरोप लगाएका छन् ।

छिमेकीहरुले भने प्रवीण सानै उमेरदेखि लागुऔषधको लतमा फसेको र त्यसको असर आफ्ना छोराछोरीहरुमासमेत पर्ने चिन्ता आफूहरुलाई रहेको बताएका छन् । प्रवीणबाट बरामद गरिएको पेस्तोल अनुसन्धानका लागि महानगरीय अपराध अनुसन्धान महाशाखामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार