काठमाडौं महानगरका मेयर शाक्यले मगाए २ करोड बढीको विलासी गाडी

काठमाडौं, २४ साउन – पदभार ग्रहण गर्नासाथ जनप्रतिनिधिका लागि महंगो मोबाइल किन्ने निर्णय गरेर विवादमा आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्ना लागि बिलासी गाडी किनेका छन् ।

मेयर शाक्यका लागि झण्डै १ करोड २० लाख मूल्यको टोयोटाको ‘फर्च्यूनर ’ गाडी काठमाडौंमा आइपुगेको छ ।

भन्सार छुटाएर ल्याइएको गाडी अहिले राष्ट्रिय सभागृह परिसरमा राखिएको छ । त्रिपालले ढाकेर राखिएको गाडीको नम्बर प्लेट लिइएको छैन । नयाँ गाडी केही दिनमै मेयर शाक्यले प्रयोग गर्ने महानगर स्रोतले बताएको छ ।

मेयर शाक्यलाई अहिले पनि महानगरले महंगै गाडी उपलब्ध गराएको छ । उनले चढ्ने गाडी झण्डै १ करोड बराबरकै छ । झण्डै ४ वर्ष अघि किनिएको गाडी जनप्रतिनिधि आउनु अघि कार्यकारी अधिकृतले चढ्दै आएका थिए ।

महानगर स्रोतका अनुसार मेयर शाक्यले चढ्दै आएको यो गाडी कन्डिसनमा छ । स्रोतले भन्यो, ‘मेयर र उपमेयरसाबलाई अहिले नै गाडी दिइएको छ । गाडी राम्रै कन्डिसनमा छ । तर, पनि नयाँ गाडी मगाइएको छ ।’

अनौठो त के भने केही समयअघि ढलमा परेर बालिकाको मृत्यु भएपछि प्रधानमन्त्रीले सडकको खाल्डाखुल्डी पुर्न भन्दा काठमाडौं मेयर शाक्यले नै वर्षामा खाल्डा पुर्दा जनताको करबाट तिरेको रकम खेर जान्छ भनेका थिए । तर, तीनै मेयरले आफ्ना लागि १ करोड २० लाख पर्ने गाडी मगाएका छन् ।

महानगरले मेयर विद्यासुन्दर शाक्यलाई १ करोड २० लाख रुपैयाँ पर्ने र उपमेयर हरिप्रभा खड्गीलाई ८६ लाख मुल्य पर्ने गाडी खरिद गरेको हो । मेयर शाक्यले चढ्ने टोयोटा कम्पनीको विलासी गाडी महानगरपालिकाको कार्यालयमा आईसकेको छ भने उपमेयर खड्गीको गाडी आउन बाँकी छ । – नाग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार