मेलम्ची पुगेर प्रधानमन्त्रीको निर्देशन, ‘काठमाडौंको सपना छिटो पूरा गर्नुहोस्’

मेलम्चीमा कृष्णप्रसाद भट्टराईलाई सम्झिए देउवाले

सिन्धुपाल्चोक, २५ साउन – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंवासीको सपनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना जतिसक्दो छिटो पूरा गर्न निर्देशन दिएका छन् । बुधबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन तथा प्रगतिको ‘व्रिफिङ’ लिँदै प्रधानमन्त्रीले जतिसक्दो छिटो काम सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीहरूलाई निर्देशन गरेका हुन् ।


‘मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० वर्षभन्दा पुरानो सपना हो,’ प्रधानमन्त्रीले निर्देशन दिँदै भने, ‘अब यो आयोजनालाई जतिसक्दो छिटो पूरा गरेर त्यो सपना साकार पार्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले कांग्रेस संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको परिकल्पनामा मेलम्चीको पानी काठमाडौं लैजाने गरी आयोजनाको खाका कोरिएको स्मरण गर्दै छिटो काम सम्पन्न गर्न सरकारले जुनसकै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

‘छिटो काम सम्पन्न गर्न सरकारबाट के कस्ता निर्णय गर्नुपर्छ त्यसका लागि म तयार छु’ प्रधानमन्त्रीले भने, ‘तर विभिन्न बहाना बनाएर काममा ढिलाई नगर्नूहोस्, यो आयोजना काठमाडौकों सपनासँग जोडिएको आयोजना हो ।’

प्रधानमन्त्रीले मेलम्चीको सुरुङ खन्नमा देखिएको ढिलाईप्रति चासो व्यक्त गर्दै तोकिएको समयभित्र काम सम्पन्न नगर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए । यो आयोजना नेपालकै गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यसलाई समयमा सम्पन्न गरेर यस वर्षकै सुक्खायाममा पानीको हाहाकार हटाउनु पर्नेमा जोड दिए ।

मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनााई तीव्रता दिन छुट्टै सहजीकरण प्रक्रिया र कानूनी झण्झट हटाउने गरी ऐन संशोधन गर्ने तयारी गरेको उनले बताए । प्रधानमन्त्रीले मेलम्ची आयोजनाको इन्टेक ड्याम र सुरुङको अवलोकन पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार