काठमाडौं, २७ साउन –माओवादी केन्द्रका पूर्व सांसदसहित तीन जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी केन्द्र परित्यागरी कांग्रेस प्रवेश गर्नेहरुमा पुर्व सभासद पुरन रानाथारु, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधान सभा २०७० को निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ मा माओवादी केन्द्रतर्फका उम्मेदवार अमीन दहित ( सुर्य) तथा जिल्ला सचिवालय सदस्य छंगा राना रहेका छन् ।
पार्टी प्रवेश गरेका तीनै जनालार्इ प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच स्वागत गर्नुका साथै सदस्यता प्रदान गरेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका संसद् सदस्य एनपी साउँदले पनि तीनै जनालार्इ स्वागत गरेका हुन् ।
तीनै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवेश गरेको घोषणा गरेका थिए । आफूले अमुल्य समय र जिवनको प्रवाह नगरी शासन व्वयस्था परिवर्तन गर्न संघर्ष गरेर परिवर्तन सार्थक भएको जनाएका छन् ।
उनले विज्ञप्तिमा लेखेका छन्, ‘नेतृत्वले शासन व्यवस्था चलाए तर कुनै नौलो परिवर्तनको अनुभुति गर्न पाएनन् । यसर्थ यस तितो सत्यलार्इ आत्मसाथ गर्दै आजको दिन देखि नै कुनै भ्रममा नपरी देशको सबैभन्दा जेठो लोकतान्त्रिक एवंम समाजवादी पार्टी नेपाली कांग्रेसमा आबद्ध भएको जनाउँदछौं ।’
उनले विज्ञप्तिमार्फत नेपालमा भएका राजनीतिक परिवर्तनलार्इ संस्थागत गर्न सक्षम, सबल पार्टी नेपाली कांग्रेसमात्रै भएकोले आफूहरुले कांग्रेसलार्इ रोजेको जनाएका छन् । उनले आफूहरु आदिवासी, जनजाती एवंम सम्पूर्ण कञ्चनपुरवासीको हकहितको संरक्षणका लागि लडिरहने बताउँदै अन्य संघर्षशिल साथीहरुलार्इ पनि नेपाली कांग्रेसमा समाहित हुन आह्वान गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापीका संसद सदस्य एनपी साउँदले तीनैजना कांग्रेसमा प्रवेश गर्नुले कञ्चनपुर जिल्लाको विकास, आदिवासी जनजातीहरुको मुक्ति र सशक्तिकरण एवं नेपाली कांग्रेसको संगठन सुदृढिकरणका लागि ठोस योगदान पुग्ने जनाएका छन् ।
तीनैजना पार्टी प्रवेश गरिसकेपछि नेता साउँदले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादको आर्दशबाट प्रभावित तथा तत्कालीन पार्टीप्रतिको नितिनियम तथा कार्यशैलिप्रती बितृष्णा भइ देशको पुरानो इतिहास बोकेको सबैको आस्थाको पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकोले नेपाली कांग्रेस जिल्ला कार्यसमिति हार्दिक स्वागत गर्दछ ।’