https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

रौतहटमा गर्भवती महिला बोकेको गाडी खोलामा खस्यो, ६ जनाको मृत्यु

रौतहट, २९ साउन – रौतहट जिल्लामा सुत्केरी बोकेको गाडी बाढीले बाटो भत्काएको स्थानमा खोलामा खस्दा ६ जनाको मृत्यु भएको समाचार छ । गाडीमा सवार दुईजना भने पौडेर बाँच्न सफल भएका छन् ।

जिल्लाको लौकाह गाउँबाट गर्भवती महिलालाई सुत्केरी गराउन अस्पताल लैजाने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । राती करिब तीन बजे भारतीय नम्बर प्लेटको गाडीमा लौकाहबाट प्राथमिक स्वास्थ्य केन्द्र राजपुर परदहवा लैजाने क्रममा लालबकैया नदीको बाढीले सडक कटान गरेको स्थानमा गाडी खस्न पुगेको थियो । बाढीले राजपुर डमार चोक र अस्पतालबीच बाटो बगाएको छ ।

गाडीमा आठ जना सवार रहेकोमा चालक र एक जना अर्का व्यक्ति भने पौडेर बाँच्न सफल भएका थिए । गाडीमा सवार गर्भवतिसहित ४ जना महिला तथा २ पुरुषको मृत्यु भएको छ ।

दुर्घटनाको खबरपछि स्थानीय राजपुर इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गौरबाट सई किशोरी यादवको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो । त्यस्तै, फतुवा सशस्त्र बेस क्याम्पको टोली पनि घटनास्थलमा उद्दारको लागि पुगेको थियो ।

शवहरुलाई खाल्डोबाट निकालिएको छ भने गाडी भने अझै खाल्डोमा नै रहेको प्रहरीले जनाएको छ । मृत्तकहरुको शनाखत हुन बाँकी रहेको छ । स्थानीय आरजु आलमका अनुसार मारिने प्रायः राजपुरका छन् ।

रौतहटको अधिकांश क्षेत्र डुबानमा, प्रायः सडक सञ्जाल अवरुद्ध

जिल्लामा बाढीको अवस्थाबारे प्राप्त पछिल्लो जानकारी अनुसार अधिकांश स्थान अझै डुबानमा छन् भने जिल्लाको प्रायः सडक सञ्जाल अवरुद्ध हुँदा उद्दार तथा राहतमा कठिनाई भइरहेको छ  । इप्रका कटहरियाका सई धमेन्द्र रायका अनुसार राती २ बजेतिर पिकुलिया कर्कच, गम्भरिहा, हर्चाहा लगायतका स्थानमा लालबकैया नदीको बाँध भत्किएको छ । जसको कारण कटहरियाबाहेक अन्य क्षेत्र डुबानमा परेका छन् ।

लालबकैया नदीको बाँध फुटेर बाढीको पानी पस्दा सदरमुकाम गौर डुबानमा परेको छ । गौरबजारमा ३–४ फिट पानी जमेको छ । ५० सालको बाढीमा पनि पानी नपसेको स्थान डुबानमा परेको छ । सदरमुकाममा काराकार, प्रहरी कार्यालयलगायत विभिन्न कार्यालयहरु डुबानमा परेका छन् । मानिसहरु घरको छतमा बसिरहेका छन् ।

त्यस्तै, लालबकैयाँको बाँध फुटेपछि पश्चिम भेग भसेडवा, झौवा, हतियाही बिर्ती कटहरिया, लक्ष्मनियाँ, फतुवा, हर्साहा, गमहरिया, फतौरी, कर्कटकर्मैया, इनरुवा, मलहेनिया पनि डुबानमा परेको छ । गरुडा नगरपालिको सबै वडा डुबानमा रहेको खबर प्राप्त भएको छ ।

पूर्वी भेगमा बागमति नदीको धर्मपुरमा रहेको बाँध भने हालसम्म सुरक्षित रहेको छ । त्यसस्थानमा स्थानीयले गस्ती गरिररहेका छन् ।

गौर–चन्द्रपुर सडक खण्डको सखुअवा चोकमा बाढीको पानीले विरेन्द्र राजमार्गको २० फिट बाटो बगाएको छ जसले गर्दा गौरचन्द्रपुर अवरुद्ध बन्न पुगेको छ । त्यस्तै, महेन्द्र राजमार्ग खुल्न सकेको छैन ।

अधिकांश ठाउँमा उद्दार टोली पुग्न सकेको छैन । सेना र प्रहरीको टोली पहुँच भएको ठाउँमा उद्दारका लागि खटिएका छन् । शुक्रबारदेखि विद्युत नभएको कारण अधिकांश स्थानमा टावर बन्द भएको कारण धेरै स्थानहरु सम्पर्कविहिन बनेका छन् ।

यसैबीच शनिबार देवाही–४ बशिष्ट यादव लागयतको टोलीले २ सयभन्दी बढी बाढी पीडितलाई चिउरा–चाउचाउ उपलब्ध गराएको छ । त्यस्तै जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष कण्ठमणि जैसवाल, स्थानीय व्यवसाय चुनसुन साहले पनि गरुडा क्षेत्रमा चाउचाउ, चिउरालगायतका खाद्यान्न वितरण गरेका छन् ।

बाटो पूरै भत्किएको कारण उद्दार टोली ग्रामिण क्षेत्रमा पुग्न सकेको छैन । सेना र प्रहरीको टोलीले डुंगा प्रयोग गरेर गौर तथा गरुडा क्षेत्रमा उद्दारमा खटिएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार