संविधान संशोधनमा राजपाका तीन रणनीति

काठमाडौं, ३० साउन – राजपाले मंगलबार संसद्मा प्रस्तुत हुने संविधान संशोधन प्रस्ताव पारित गराउन एमालेलाई लिखित आग्रह गर्ने तयारी गरेको छ । संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक ३९५ मतमध्ये अहिले २२ मत अपुग भएपछि कमल थापा नेतृत्वको राप्रपा र एमालेको समर्थन जुटाउन राजपाले औपचारिक पहल गर्न लागेको छ ।

कमल थापा नेतृत्वको राप्रपा विभाजित भई पशुपतिशमशेर राणको नेतृत्वमा २२ सांसद गएपछि ३७ सांसदमध्ये थापासँग १५ सांसद मात्रै छन् । पार्टी विभाजनपछि थापाले संशोधनमा असहयोग गर्ने निर्णय गरिसकेका छन् । जसले गर्दा संशोधनका लागि दुईतिहाइ मत पुग्न २२ मत कम हुने भएको हो ।

१ कमल थापालाई मनाउने
संसद्मा मंगलबार प्रस्तुत हुने सविधान संशोधन प्रस्ताव पारित गराउन राजपाले कमल थापा नेतृत्वको राप्रपालाई मनाउन प्रयत्न गर्नेछ । पार्टी विभाजित भएपछि थापा नेतृत्वको राप्रपाले संविधान संशोधनमा सहयोग नगर्ने बताएको छ । पार्टी विभाजनपछि थापासँग १५ सांसद छन् । थापालाई भेटेरै विगतको समर्थनबारे स्मरण गराउने तयारी भइरहेको राजपा महामन्त्री केशव झाको भनाइ छ ।

२ एमालेलाई फकाउने
राजपा र एमालेबीच केही दिनयता सम्बन्ध बाक्लो बन्न थालेका छ । सोहीअनुसार उसलाई लिखित र मौखिक रूपमा संशोधनको पक्षमा मत दिन आग्रह गरिने राजपाका नेताहरूको भनाइ छ । २ असोजको निर्वाचनमा तालमेल गर्नेसम्मको तयारीसहित एमालेलाई संशोधनको पक्षमा ल्याउन राजपाले पहल गर्नेछ ।

३ सात सांसद खोजी गर्ने
संविधान संशोधनका लागि ३९५ मत आवश्यक पर्छ । कमल थापा नेतृत्वको राप्रपाले संशोधनको विपक्षमा मत हाल्ने भनेपछि २२ मत अपुग हुन्छ र राप्रपालाई मनाउन सकिएको अवस्थामा सात मत अपुग हुन्छ । राजापा नेताहरूको भनाइमा कमल थापालाई मनाउन सकिने अवस्था छ । त्यसकारण बाँकी सात मत पुर्याउन राजपाले अन्य साना दलसँग सोमबारदेखि नै घनीभूत छलफल गर्ने भएको छ ।- नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार