बाढीपहिरो पीडितका लागि राहत संकलन गर्दै नेविसंघ

काठमाडौं, ३० साउन – देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोमा परी ठूलो धनजनको क्षति भइरहेका बेला नेपाल विद्यार्थी संघले राहत संकलन कार्य सुरु गरेको छ। नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत संकलन कार्यक्रम सुरु गरेका हुन्।


नेविसंघले आइतबार देखि सुरु गरेको राहत संकलन कार्य चार दिनसम्म जारी राख्ने जनाएको छ। बालाजुको नेपालटार, बाईपास, माछापोखरी, गुणस्तर, नयाँ बसपार्क लागयतका क्षेत्रमा राहत संकलन गरिएको कार्यक्रमका संयोजक एवम् नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले बताए। उनका अनुसार नगदसहित, लत्ताकपडा, खाद्यान्न र भाँडाकुडासमेत संकलन गरिएको छ।

उनले छिट्टै प्रभावित क्षेत्रमा गएर वितरण गरिने बताए। राहत संकलन कार्यक्रममा सहभागि नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले सरकार एक्लैको प्रयासमा मात्र राहत वितरण प्रभावकारी हुन नसक्ने भएकाले आफूहरुले राहत संकलन गरेको बताए।

उनले भने, ‘सरकारको मात्र मुख हेरेर हुँदैन, सरकारले सीमित साधन स्रोतका बीच देशभर राहत वितरण र उद्धार कार्य गर्नुपर्ने छ। त्यसकारण हामीले जनस्तरबाट समेत राहत कार्य वितरण गर्न लागेका हौं।’
नेविसंघ एन आर सम्योजक परोपकार अधिकारीले देशभरका युवा विद्यार्थीहरु एकजुट भएर पीडितको उद्धार र राहत वितरण लागे अहिले देखिएको विषम परिस्थिति केही सहज हुने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार