https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

‘पानीमा राखेको एउटा फोटो खिचेपछि हेरिरहन सकिनँ, केहीबेरमा शव अलप भइसकेको थियो’

सप्तरी, ३१ साउन – उनले बडो ममतापूर्वक बालकलाई च्यापेका थिए । झरी परेको आकाश केही उघ्रिए पनि मौसम चिसोचिसै थियो । बालकलाई कम्बल ओढाइएको थियो ।

लाग्यो – उपचार गर्न अस्पताल लैजाँदै गरेको हुनुपर्छ । मैले जिज्ञासा राखेँ । बालक बोक्ने व्यक्ति केही बोलेनन् । साथमा आएका अर्का व्यक्तिले भने, ‘बाढीमा डुबेर यो बालकको मृत्यु भयो, जताततै पानी नै पानी छ। गाड्ने ठाउँ पाइएन। त्यसैले कोसीमा बगाएर सद्गत गर्न जाँदैछौँ ।’

सुन्दै मन कटक्क भयो । नहरको डिलडिलै उनीहरु अघि बढिरहेका थिए । पाइला पछ्याउँदै हामी पनि गयौँ । करिब एक किलोमिटर पार गएपछि कोसीको किनार भेटियो ।

बालकको शव बोक्ने व्यक्ति चुपचाप अघि बढे । कम्मरसम्म डुब्ने भागमा पुगेपछि होसियारीपूर्वक पानीमाथि शव राखिदिए । आधा मिनेट पनि नभई शव पानीले बगाउँदै लग्यो । उनले हेरिरहन सकेनन् । बग्दै गरेको एउटा फोटो खिचेपछि मैले पनि हेर्न सकिन । केही समयपछि हेर्दा शव अलप भइसकेको थियो ।

बाढीले तराईका जिल्लाहरु डुबानमा परेलगत्तै म सप्तरी आएको थिएँ । कोइलाडी र सकरपुरा गाउँमा धेरै व्यक्ति बाढीमा फसेको सुनेपछि नेपाली सेनाको ‘रबरबोट’ मा तिलाठीको मुसहर बस्ती पुगेँ । उद्धारको प्रतिक्षामा रहेकाहरुको अवस्था कहालीलाग्दो दियो । म फसेकाहरुको फोटो खिचिरहेको थिएँ ।

आइतबार दिउँसो एक स्थानीय बासिन्दाले फुदन सदाका ५ वर्षीय छोरा कमलुको मृत्यु भएको सूचना दिए । उनले जाने बाटोसमेत बताइदिए । हामी त्यतै गयौँ। बायाँतिर अलि पर कोसी नदी गडगडाउँदै बगिरहेको थियो। कम्बलभित्र तिनै कमलुको शव रहेछ र बोक्ने उनका काका देवकुमार सदा ।

मधेसको दलित समुदायमा बालबालिकाको निधन हुँदा गाड्ने परम्परा छ । त्यसका लागि बाटोघाटोबाट अलि टाढा सार्वजनिक स्थल प्रयोग गरिन्छ ।

त्यस्तो ठाउँ जति खोज्दा पनि नपाएपछि सदा परिवारका लागि शव बगाइदिनुको विकल्प थिएन । नदीमा बालकको सद्गत गरेर निस्किएपछि भावविह्वल देवकुमारले भने, ‘निमुखालाई सरकारले त हेर्दैन–हेर्दैन, भगवानले समेत नहेर्दा रहेछन् ।’ – कान्तिपुर दैनिक

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार