पोखरामा सैनिकले आफ्नै सहकर्मीलार्इ किन गोली ठोके ?

कास्की, ३१ साउन –  पोखरामा नेपाली सेनाका एक सैनिकले आफ्नै साथीको गोली हानी हत्या गरेका छन् । पोखरा लेखनाथ ११ स्थित सिद्धीबक्स गणको रत्न मन्दिर पोस्टमा सुरक्षार्थ खटिएका सैनिक प्युठ वसन्त लोहारले आपसी झगडाका क्रममा आवेशमा आर्इ अर्का प्युठ गणेश सिंह विष्टलाई गोली हानी हत्या गरेका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी झंकर बहादुर कडायतले घटनाको पुष्टि गरेका छन् । नेपाल तारासँग उनले भने,’ यो एउटा दुर्घटना हो । व्यक्तिगत रिसइवी तथा मनमुटावका कारण यस्तो घटना भएको छ । गोलि हान्ने वसन्तलार्इ निगरानीमा लिएर विस्तृत अनुसन्धान सुरु भएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार छिमेकी जिल्लाका वसन्त र गणेशबीच पहिले देखि नै मनमुटाव रहँदै आएको देखिन्छ । पारिवारिक तथा व्यक्तिगत विषयमा उनीहरुबीचको मनमुटावले विस्फोटक रुप लिँदा यस्तो घटना भएको हो ।

ड्युटीमा रहेका विष्टलाई लोहारले बिहान साढे ४ बजे गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेका विष्टको उपचारका लागी अस्पताल लैजाँदै गरेका बेला मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका बारेमा सेना र प्रहरीले संयुक्त अनुसन्धान थालेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी पुष्कर कार्कीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार