स्पेनमा आइएसको हमला, १३ जनाको मृत्यु, जवाफमा ४ आतंककारी मारिए

स्पेन, २ भदौ – स्पेनमा इस्लामिक स्टेट आइएसले गरेको आक्रमणमा १३ जना मारिएका छन् । आक्रमणमा एक सय जनाभन्दा बढी ब्यक्ति घाइते भएको बीबीसीले उल्लेख गरेको छ । आईएसले नै गराउन लागेको दोस्रो आक्रमण विफल बनाउने क्रममा सुरक्षाकर्मीले गरेको कारवाहीमा चार जना मारिएको प्रहरीले जनाएको छ ।

बार्सिलोना नजिक कैम्ब्रिलसमा गराउन खोजिएको दोस्रो आक्रमण रोक्न गरिएको प्रहरी कारवाहीमा उनीहरु मारिएका हुन् । स्पेनका प्रधानमन्त्री मारियानो रखाँयले आक्रमण आतंकवादीले गराएको बताएका छन् । आइएसले पनि बार्सिलोना आक्रमणमा आफ्ना लडाकुको हात रहेको दावी गरेको छ ।
सबै नेपालीहरु सुरक्षित छन् : एनआरएनए स्पेन
बार्सिलोनामा आतंककारी हमला हुँदा गर्दा, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको बैठक चलिरहेको थियो। देशमा बाढीपीडितहरुका लागि संकलित रकम कसरी पठाउने बारे छलफल भइरहेका बेला यस्तो घटना भएको छ ।

घटनापछि तत्कालै एनआरएन स्पेनको कार्यलयबाट नै त्यस वरपर रहेका नेपालीहरुसँग सम्पर्कको प्रयास भएको संघले जनाएको छ। लगत्तै संघका अध्यक्ष चिन्तामणि सापकोटाले घटनाप्रति दुख व्यक्त गर्दै सबै नेपालीहरु सुरक्षित रहेको सूचना जारी गरेका छन्।

बार्सिलोनामा मात्रै झन्डै ४ हजार नेपालीहरुको रहेको अनुमान छ। प्रमुख पर्यटकीय क्षेत्र भएकाले पनि यहाँस्थित नेपालीहरु सानासाना पसलदेखि रेष्टुराहरुका काममा समेत व्यस्त हुने गरेका छन्। उनीहरूमध्ये कोही हताहत भए नभएको बारे बुझ्ने प्रयासलाई भने संघ संस्थाहरुले जारी राखेका छन्।

राम्बलास किन पर्यो निशानीमा ?
राम्बलास बार्सिलोनाको एक प्रमुख सडक हो। दुवैतिर वृक्ष रोपेर वीचमा मान्छे हिँड्ने पैदल स्थल बनाएकाले पनि पर्यटकहरुका लागि यो ठाउँ नौलो र लोकप्रिय मानिन्छ। कातालोनिया सेन्टरदेखि कोलोम्बस स्मारकसम्म १\२ किलोमिटरको दुरीसम्मको यो पैदल सडकमा हजारौं मानिसहरु ओहोर दोहोर गर्ने गर्छन्।
[फोटोफिचर]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार