राष्ट्रपति भण्डारीले शीर्ष नेतालार्इ राष्ट्रिय हितप्रति गम्भीर हुन किन सचेत गरार्इन ?

काठमाडौं, ३ भदौ – राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन दलका शीर्ष नेतालार्इ बोलाएर राष्ट्रिय हितप्रति गम्भीर हुन सचेत गराएकी छन् । भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई पहिरो, बाढी तथा डुवान समस्याबारे गम्भीर प्रश्न उठाएकी छन् ।

कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई शनिबार आकस्मिक रुपमा बोलाएर राष्ट्रपति भण्डारीले राष्ट्रिय हितका मामिलामा साझा दृष्टिकोण बनाई अघि बढ्न आग्रह गरेकी हुन् । तराईको वर्षैपिच्छे हुने डुवानमा सीमानामा बाँधिएका बाँध र तटबन्धप्रति सरकार गम्भिर हुन आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘तराई क्षेत्रमा भएको डुवानमा उद्धार राहत र पुर्नस्पनाको सन्दर्भमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर जानु पर्यो । भण्डारीले ‘बाढी आउँछ, जनताले दुःख पाउँछन्, अनि जति सकिन्छ राहत बाँढेर बस्ने ? भन्दै नेताहरुलाई प्रश्न गरिन्, ‘डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ? सरकारले किन यसतर्फ ढिलाई गरिरहेको छ ?’

छिमेकी देशसँग जोडिएका सन्धी सम्झौता र त्यसले उत्पन्न समस्याप्रति एउटै धारणा बनाएर कुटनीतिक पहल गरी समस्या समाधान गर्न राष्ट्रपतिले आग्रह गरेकी हुन् । ‘हाम्रा छिमेकीहरुसँग जुन सन्धी सम्झौता भएका छन्, कतिपय बाँध, कतिपय तटबन्धहरु नहरहरु, सडकहरुले हाम्रो देशको दक्षिणी भूभाग डुबानमा पर्यो भन्ने कुरा आएको छ’ राष्ट्रपति भण्डारीको भनाई उद्धृत गर्दै माओवादी नेता श्रेष्ठले भने, ‘यो बारेमा तपाईंहरुको कुरा के हो ? गम्भीर रुपमा कुटनीतिक ढंगले यो समस्या राष्ट्रको हितमा हल हुनेगरी उठाउनु पर्यो र समाधान गर्नुपर्यो ।’

उनले काठमाडौंको बसपार्कमा टावर बनाउन दिएकोमा पनि असन्तुष्टि जनाएकी छन् । एक मात्र अन्तर्राष्ट्रिय स्तरको सिटी हल -सभागृह पछाडि खाली ठाउँ बनाउनु त कहाँ हो कहाँ, भ्यू टावर बनाउन दिने र बस पार्क बनाएर टुँडिखेल मास्ने भन्दै प्रश्न गरेको एक नेताले बताएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले साझा विदेश नीति बनाउन सरकारले पहल गर्ने आश्वासन दिए । उनले डुवान पीडितका लागि सरकारले राहत र उद्दार भइरहेको जानकारी गराए ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल एक एक जना सहयोगीसाथ राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् । ओलीसँगै एमाले उपाध्यक्ष बामदेव गौतम, देउवासँगै कांग्रेस नेता रामचन्द्र पौडेल र दाहालसँगै माओवादी नेता नारायणकाजी श्रेष्ठ शीतलनिवास पुगेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार