मध्यरातमा एमाले नेताको घरमै मतदाता नामावली संकलन

काठमाडौं, ४ भदौ – बुढानीलकण्ठ नगरपालिकाको मिलेमतोमा नेकपा एमाले नेताको घरमा मध्यरातमा तस्बिरसहितको मतदाता नामावली संकलन गरिएको खुलेको छ । स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएको थियो । तर, मध्यरातमा एमाले नेताको घरमा निर्वाचन कार्यालयका कर्मचारी ल्यापटपसहित नामावली संकलन गर्ने उपकरणसहित पक्राउ परेका छन् ।


जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि आकृत खत्रीलाई बुढानीलकण्ठ नगरपालिकामा खटाएको थियो । उनलाई यही कामका लागि स्थानीय तहको सिफारिसमा करारमा लिइएको हो । बाँकी कर्मचारी स्थानीय तहले व्यवस्थापन गरेको थियो । दुई टोली बनाएर तस्बिरसहितको मतदाता नामावली संकलन भयो । तर, खत्रीलाई हातमा लिएर एमाले नेताहरुले रातारात आ–आफ्नो घरमै नाम संकलन गर्ने गरेको खुलासा भएको हो ।

खत्री एमाले नेता अर्जुन खत्रीको भतिजा भएको पनि खुलेको छ । उनलाई प्रयोग गरेर एमाले नेताहरुले आफ्ना समर्थकहरुलाई घरमै नाम लेखाउने व्यवस्था मिलाएका हुन् । तस्बिरसहितको मतदाता नामावलीमा नाम लेखाउन समय सकिएपछि पनि उनीहरुले उक्त काम जारी राखे ।

त्यसका लागि एमाले बुढानीलकण्ठ नगरपालिका प्रमुख दिपक निरौलाको घरलाई अड्डा बनाइएको थियो । शनिबार त्यसबारे जानकारी पाएपछि स्थानीय बासिन्दाले विरोध गरे ।

प्रहरीले निरौला र खत्रीसँगै बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ । महाराजगञ्ज वृत्तका डीएसपी गोविन्द पुरीले भने, ‘निर्वाचन आयोगका कर्मचारीबाट ल्यापटपसहित मतदाता नामावली संकलन गर्ने सामग्री बरामद गरेका छौं ।’ काठमाडौंका जिल्ला निर्वाचन अधिकृत चन्द्र गौतमले घटना दुःखद भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार