प्रधानमन्त्री देउवा भारत प्रस्थानः कस्तो छ भ्रमण तालिका र के के छन् एजेन्डा ?

काठमाडौं, ७ भदौ – भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका हुन् । प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठले बिदाइ गरेका थिए ।

प्रधानमन्त्री देउवाको बिदाइका लागि मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि विमानस्थल पुगेका थिए । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको उडानबाट त्यसतर्फ गएका हुन् ।

परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार बुधबार नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने राजकीय भ्रमणका लागि उच्चस्तरीय टोलीको नेतृत्व गर्दै भारत प्रस्थान गरेका छन् । चार मन्त्री र पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी गोविन्द पोखरेलसहित ५९ सदस्यीय जम्बो टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा अाज बिहान भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको छ। भ्रमणका क्रममा चार भिन्न क्षेत्रका सात समझदारी हुने तयारी छ । भूकम्पपछिको पुनर्निर्माणका विषयमा चार समझदारी हुनेछ भने मेचीमा पुल निर्माण, गुणस्तरमा मान्यता र लागूऔषध ओसारपसारमा नियन्त्रण गरी अन्य तीन समझदारी हुने बताइएको छ ।

यस्तै, दुई मुलुकका गुणस्तर तथा नापतौल निकायबीच समझदारीपछि नेपाली गुणस्तर चिह्न पाएको सामान भारतमा पनि मान्य हुनेछ । पशुपति क्षेत्र पुनर्निर्माणका लागि सहयोग गर्ने विषय टुंग्याउन नेपाली पक्षले जोड गर्नेछ । लुम्बिनीमा निर्माण गर्ने सभागृहका लागि पनि भारतले सहयोग उपलब्ध गराउने छ ।

लामो समयदेखि चर्चामा रहेको निजगढ विमानस्थल, पूर्व–पश्चिम रेल परियोजना निर्माण, हवाई रुट थप, हुलाकी सडकको सहयोग र अन्य राजमार्ग विस्तारलगायत दर्जनौ विषयमा पनि छलफल हुने परारष्ट्र स्रोतले जनाएको छ । भारतका कारण विवादित कालापानी र सुस्तालगायत नेपाली भूभागका विषयमा समेत छलफल हुने अधिकारीहरूले बताए । भारतले प्रस्ताव गर्दै आएको सुपुर्दगी सन्धिलगायत विषयमा पनि छलफल हुनेछ ।

सीमा क्षेत्रमा भारतले बनाएको सडक र बाँधले लामो समयदेखि तराईमा नेपाली भूभाग डुबानमा परेको विषयमा प्रधानमन्त्रीले गम्भीर छलफल गर्ने सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।
यस्तो छ भ्रमण तालिका

पहिलो दिन (बुधबार)
भारत भ्रमणका क्रममा पहिलो दिन बुधबार देउवालाई साँझ भारतीय विद्युत मन्त्री पियुस गोयलले भेट गर्ने कार्यक्रम छ। सोही साँझ प्रधानमन्त्री देउवाको भारतस्थित नेपाली दूतावासका लागि दुई घण्टाको समय छुटयाएका छन्। दूतावासमा देउवाले एक कार्यक्रमका बीच भारतमा रहेका प्रवासी नेपालीलाई सम्बोधन तथा छलफल गर्ने कार्यक्रम छ। सोही समयमा भारतमा रहेका प्रवासी नेपालीको तर्फबाट राजनीतिक दलका भातृसंस्थाले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

त्यसै गरी भारतमा रहेको नेपालीहरुको व्यवासायिक छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्शका पदाधिकारीहरुले भारतमा रहेका व्यवसायीलाई नेपालमा लगानीको वातावरण बनाइदिने आशय सहितको ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन्। साँझ ७ बजेपछि दूतावासले प्रधानमन्त्रीको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ। रात्री भोजमा भारतका उच्च राजनीतिज्ञ, कूटनीतिक नियोग प्रमुख, प्रशासनिक विज्ञ, नेपालका पूर्व राजदूतहरु, विश्लेषक, लेखक, पत्रकारको सहभागिता हुने कार्यक्रम छ।

दोस्रो दिन (बिहीबार) उच्चस्तरिय भेटघाट
उच्च तथा महत्वपूर्ण राजनीतिक भेटघाटमा प्रधानमन्त्री देउवाको कार्य तालिका तालिका विहिबार विहान नौ बजेदेखि सुरु भएर साँझ ७ बजेसम्म रहनेछ। जसमा उच्च राजनीतिक भेटघाटको जम्मा समय साढे ४ घण्टा रहेको छ। भ्रमणको सबैभन्दा महत्वपूर्ण भेटघाट वान टु वान मिटिंङलाई मानिन्छ। प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ११.३० देखि १२ बजेसम्म हैदराबाद हाउसमा वान टु वान भेटवार्ता हुनेछ।

मोदीसँगको भेटवार्तापछि दुई मुलुकका भ्रमणदलका अधिकारीबीच छलफल पश्चात केही संम्झौता पत्रमा हस्ताक्षर साटासाट हुने कार्यक्रम छ। त्यस पश्चात प्रेस वक्तव्य जारी गरिने कार्यक्रम छ। प्रधानमन्त्री मोदीसँग भेटनु अघि बिहीबार नै प्रधानमन्त्री देउवालाई विदेश मन्त्री सुष्मा स्वराजले बिहान ९.३० बजे भेटने कार्यक्रम छ। उच्च राजनीतिक भ्रमण क्रममा दिइने विशेष सम्मान अनुरुप प्रधानमन्त्री देउवालाई बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनर दिने कार्यक्रम छ।

त्यस लगत्तै ९.३० बजे महात्मा गान्धीको समाधिस्थलमा श्रद्धान्जली तथा त्यहाँ रहेको भिजिटर्स बुकमा हस्ताक्षरको कार्यक्रम छ। दिउँसो ३ बजेदेखि ३.३० बजेसम्म गृहमन्त्री राजनाथ सिंह, वित्त मन्त्री अरुण जेटलीले प्रधानमन्त्री देउवासँग भेटने कार्यक्रम छ। प्रधानमन्त्री देउवा ४.१५ बजे नवनिर्वाचित उपराष्ट्रपति बैकैया नायडु र ५ बजे नवनिर्वाचित राष्ट्रपति रामनाथ कोबिंदसँगको भेटघाटपछि प्रधानमन्त्री देउवाको सो दिनको औपचारिक भेटघाट सकिनेछ।

तेश्रो दिन (शुक्रबार)
भारतीय जनता पार्टी निकट थिंक ट्यांकहरुको गैर सरकारी संस्था इण्डिया फाउन्डेसनले आयोजना गर्ने एक कार्यक्रमलाई प्रधानमन्त्री देउवाले शुक्रबार १० बजे सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री देउवा ११.३० बजे विशेष विमानबाट हैदराबाद जाने कार्यक्रम छ। त्यहाँ प्रधानमन्त्री देउवाले हैदराबादको सूचना प्रविधि पार्क (हाइटेक सिटी)को अवलोकन गर्ने कार्यक्रम छ।

चौथो दिन (शनिबार)

भ्रमणको चौथो दिन प्रधानमन्त्री देउवा तिरुपति मन्दिर दर्शन गर्न जाने कार्यक्रम छ। उनी आन्ध्र प्रदेशको चित्तौर जिल्लामा रहेको तिरुपति मन्दिरका लागि शनिबार बिहान १० बजे विशेष विमानबाट जाने कार्यक्रम छ।

१२.१५ बजे बजे मन्दिर दर्शनको कार्यक्रम छ। सो कार्यक्रम सकाएर २ बजे प्रधानमन्त्री देउवा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बिहारको गयाका लागि प्रस्थान गर्नेछन्। गयामा विहारका मुख्यमन्त्री नितिश कुमारले प्रधानमन्त्रीलाई स्वागत गर्ने बारे टुंगो भने लागिसकेको छैन।

पाँचौ दिन (आइतबार)

आइतबार गयाबाट दिल्ली टान्जिट हुँदै प्रधानमन्त्री देउवा साँझ ६ बजे नेपाल एयरलायन्सको उडानबाट काठमाडौं फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार