साइकल लिएर चुनावमा जाने भयो राजपा, कालो पट्टी बाँधेर चुनावी गतिविधिमा लाग्ने

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले असोज २ मा हुने स्थानीय तह निर्वाचनमा साइकल चुनाव चिन्ह लिएर चुनाव लड्ने भएको छ । निर्वाचन आयोगले राजपाले मागेको छाता चुनाव चिन्ह नदिने भएपछि राजपाले यसअघि राष्ट्रिय मधेस समाजवादी पार्टीले पाएको साइकल चुनाव चिन्ह नै प्रयोग गर्ने भएको हो । राजपाले बिहीबार पत्रकार सम्मेलन गरी साईकल चिन्ह लिएर चुनावमा जाने निर्णय गरेको जानकारी दिएको हो ।

बिहीबार पत्रकार सम्मेलन गरी राजपा असोज २ मा हुने दुई नम्बर प्रदेशको चुनावको तयारीमा लाग्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले भदौ नौ गतेबाट कालोपट्टि बाँधेर चुनावको तयारीमा लाग्ने बताए ।

पत्रकार सम्मेलनमा राजपाले चुनाव तयारीका कार्यक्रम समेत सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार भदौ नौ गते सवै जिल्लाका अध्यक्ष र केन्द्रीय सदस्य तथा पदाधिकारीको संयुक्त बैठक बसेर पर्यवेक्षक टोली बनाउने छ । त्यस्तै भदौ १० गते उम्मेदवारको नाम संकलन गर्ने, ११ गते उम्मेदारका लागि आएका नाम स्थानीय स्तरमै सहमति गर्न प्रयास गर्ने, १२ गते सहमति नभएका विषय जिल्लास्तरमा टुङग्याउने र १३ गते केन्द्रीय अध्यक्ष मण्डललाई उमेदवार चयनको प्रतिवेदन बुझाउने रहेका छन् ।

त्यस्तै राजपाले निर्वाचनका लागि २ नम्बर प्रदेशका आठवटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सिराहामा गजाधर यादव, धनुषामा अरुण सिंह, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, वारामा मालावती राना थारु, पर्सामा विजय गुप्ता र सप्तरीमा नरसिंह चौधरी रहेका छन् ।

राजपाले सरकारले आफ्ना मागमध्ये ६ वटा माग पुरा गरेकोले निर्वाचन गएको पनि प्रश्ट पारेको छ । पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले सहिद घोषणा, घाइतेलाई आर्थिक सहयोग, मुद्धा फिर्ता, टिकापुर घटनाको क्षतीपुर्ति, स्थानीय तहको संख्या बढाउने निर्णय र संशोधन विधेयक संसदमा निर्णायार्थ प्रस्तुत गरेकाले चुनावमा गएको जानकारी दिए ।
यसअघि दुई दिन पदाधिकारी र एकदिन बसेको अध्यक्ष मण्डलको बैठकले गरेको निर्णय सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार