किन एक भए तीन कोइराला ?

नेतृत्वका लागि जुर्मुराउँदै कोइराला परिवार

काठमाडौं, १० भदौ – कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा शुक्रबार तीन कोइराला (शशांक, शेखर र सुजाता) एउटै मञ्चमा देखिए । यो एउटा तत्कालिन संयोग मात्रै थिएन। पाँच साताअघि पारिवारिक रुपमा महामन्त्री शशांकको टोखास्थित निवासमा ‘लन्च मिटिङ’ गरेका तीन कोइरालाले औपचारिक रुपमै एक भएको सन्देश सार्वजनिक गर्न त्यस्तो अवसर खोज्दै थिए, जुन अवसर पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्ने बहानामा मिल्यो।

निमन्त्रणा गर्दा नै पत्रकारसंग तीन कोइरालाको कुराकानी भनेर बोलाइएको थियो र कार्यक्रमलाई पनि त्यहि हैसियतमा औपचारिकता दिइयो । तीन कोइरालालाई एकै ठाउँमा राख्न घरमै मञ्च खडा गरियो। जसमा शशांक, शेखर र सुजाता क्रमश बसे। बायाँपट्टी पत्रकार महासंघका नवनिर्वाचित सभापति गोविन्द आचार्य र कांग्रेस केन्द्रीय सदस्य प्रकाशशरण महत थिए। पत्रकार भेटघाटको कार्यक्रम भनिए पनि पार्टीका नेता र मन्त्रीहरुको पनि उपस्थिती थियो।

कार्यक्रम सुरु हुनुअघि एकैछिन घरभित्र तीन कोइराला बसे र महामन्त्री शशांकले मात्रै कार्यक्रममा मन्तव्य राख्ने सहमति गर्दै बाहिर निस्के। कार्यक्रमलाई औपचारिकता दिदै पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान गरियो र त्यसपछि महामन्त्री शशांकले मात्रै मन्तव्य राखे । तीन कोइरालाको आयोजनामा बोलाइएकाले उपस्थित पार्टीका अन्य नेताहरुले त्यहाँ बोल्ने अवसर पाएनन्।

कांग्रेस महामन्त्री शशांकले बोल्दै गर्दा शेखर र सुजाताको हाउभाउ र कानेखुशी रोचक बनेको थियो। सभापति शेरवहादुर देउवालाई गलत ‘फहमी’ नहोस् भन्नकै लागि महामन्त्री शशांकले देउवा निकट नेता महतलाई विहानै कार्यक्रममा उपस्थित भईदिन आग्रह गरेका थिए। ‘मलाई त पार्टीको महामन्त्रीको हैसियतले आयोजना गरिएको कार्यक्रम भनेर आएको हुँ’ महतले भने,‘तर कार्यक्रम सुरु हुँदा नै तीन कोइरालाको आयोजना भनियो। सायद तीन कोइराला एक भएको सन्देश दिन त्यस्तो गरिएको होला। अरु त थाहा भएन।’

यसअघि साउन ४ गते टोखास्थित शशांक निवासमा तीन कोइरालाले राजनीतिक बिषयमा छलफल गर्न ‘लन्च मिटिङ’ गरेका थिए । पारिवारिक बैठक भनिए पनि भावी दिनमा पार्टी नेतृत्वको मार्गचित्र तय गर्न कोइराला परिवार एक भएको बुझाइ कांग्रेस नेताहरुले गर्न थालेका छन्। ‘देशभरका नेता कार्यकर्ताले कोइराला परिवार मिल्नु पर्‍यो भन्दै दबाव दिन थाले, हामीबीच त्यस्तो तिक्तता त थिएन तर एक भएको सन्देश दिनपनि यस्तो मिटिङ राखिएको हो’ केही दिन अघि कान्तिपुरसँगको कुराकानीमा शेखरले भनेका थिए।

१३ औं महाधिवेशनसम्म पार्टीको नेतृत्वमा पुग्न यिनै तीन कोइरालाबीच भित्रभित्र चर्कै टकराब थियो । तीनै जना महामन्त्रीका दावेदार थिए । प्रतिस्पर्धाको टकराबबीच मिल्दै आए पनि हार्दिकता थिएन । भेटघाट र कुराकानी पारिवारिक जमघटमा सिमित थियो । राजनीतिक कुराकानी हुन्थेन। ‘अहिले तीन कोइरालाबीच हार्दिकतामात्रै छैन, राजनीतिक कुराकानी बढी, बरु पारिवारिक कुराकानी कम हुन थालेको छ’ शशांक निकट रहेका एक नेता भन्छन,‘तीन जनाबीच आगामी महाधिवेशनसम्म कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल हुन थालेको छ।’

लामो समयपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर पुगेको छ, अर्थात १३ औं महाधिवेशनबाट नेता शेरबहादुर देउवाले पार्टीको बागडोर सम्हाल्दै आएका छन्। पहिलो त गैर कोइराला नेतृत्वमा पार्टी नेतृत्व पुग्दा कोइराला परिवार चिन्तित छ। दोस्रो देउवाको काम गर्ने शैलीप्रति उनीहरुको असन्तुष्टी बढदो छ। खासगरी शेखर कोइराला देउवाको कार्यशैलीलाई लिएर सार्वजनिक रुपमै असन्तुष्टी जनाउँदै आएका छन्।

तीन कोइरालाको यो एकताले एकैचोटी सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई समेत झस्काएको छ । तीन कोइराला मिलेरै अघि बढेमा पार्टीको १४ औं महाधिवेशनमा त्यसको प्रत्यक्ष असर पर्ने अहिलेका शीर्ष नेतृत्वले आंकलन गरेका छन्। शेखरले तीन जना मिल्दा पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिने विश्वास व्यक्त गरे। असोज २ मा हुने २ नम्वर प्रदेशको चुनावमा समेत तीन कोइराला बाँडिएर खट्ने योजनासमेत उनीहरुको छ । ‘हामी बाँडिदा पार्टीको पोजिसनमा पनि प्रभाव पार्छ, त्यसैले तीन जना एकैठाउँमा नबसी बाँडिएर जिम्मेबारी लिने तयारीमा छौ’ शेखरको भनाइ थियो। – कान्तिपुर दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार