काठमाडौं, १० भदौ – आज ऋषि पञ्चमी पर्व । हिन्दू महिलाहरुले आज सप्तऋषिको पूजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् ।
आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् ।
साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र पहिरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन् ।
विशेषगरी महिनावारीको विषयसँग जोडिएको यो पर्वमा कुनैपनि देवीदेवताको पूजा गरिँदैन । यसमा त बरु सप्तर्षिहरुको पूजा गरिन्छ । एक वर्षभरी महिनावारी हुँदा गरिएको अञ्जान पाप कर्मबाट मुक्ति पाउनको लागि यो व्रत बस्ने गरिएको धार्मिक विश्वास छ ।
अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ ।
काठमाडौंको टेकूस्थित ऋषेश्वर महादेवको मन्दिरमा ठूलो भीड लागेको छ । सप्तऋषिको पूजापछि दिनभर नाचगान र भजनकिर्तन गर्ने चलन पनि छ ।
ऋषिपञ्चमीको महत्व
१ ऋषि पञ्चमी पर्व महिलाहरुका साथसाथै विशेषगरी कुमारी कन्याहरुले व्रत बसी मान्ने गर्दछन् । यो अरु व्रत उपासना अन्य व्रत जस्तो सुयोग्य र मनले खोजेजस्तो व्रत पाउनको लागि होईन । यसको भिन्न प्रयोजन रहेको छ ।
२ ऋषि पञ्चमीको ब्रत खास तौर तरिकाले अञ्जान रुपमा गरिएको पाप नष्ट गर्नको लागि लिईने ब्रत हो । त्यसैले यो पर्व हरेक उमेरका महिलाहरुको लागि यो व्रत आवश्यक छ ।
३ यो व्रत विशेषगरी महिनावारीसँग जोडिएको छ । महिनावारीको समयमा भएका अञ्जान गल्तीहरुबाट मुक्ति पाउनको लागि यो व्रत महत्वपूर्ण मानिन्छ ।
४ ऋषि पञ्चमीमा एउटा यस्तो विशेष महत्व यो छ कि यो दिन कुनैपनि देवीदेवताको पूजा गरिँदैन, यो दिन त सप्तर्षिहरुको पूजा गर्ने गरिन्छ ।
५ यस व्रतमा दत्तिवन नामक बृक्षको विशेष महत्व रहेको पाईन्छ । ३६५ वटा दत्तिवनलाई टोकेर वर्षभरीका हरेक दिन गरिएका अञ्जानको पापबाट मुक्ति पाउने गरिन्छ । समस्त पापको नास गर्ने यो व्रतमा दत्तिवनविना व्रत पूर्ण हुँदैन ।