भारतमा फैलिएको कपाल काटिने घटना नेपालमा भित्रियो, महिलाहरु आतंकित

भैरहवा, ११ भदौ – रुपन्देही र कपिलवस्तुका महिला तथा युवतीहरु अपत्यारिलो घटना हुन थालेपछि आतंकित बनेका छन् । छँदाखाँदाको कपाल एक्कासी काटिने गरेका घटना एकपछि अर्को सार्वजनिक हुन थालेपछि महिला आतंकित बन्न थालेका हुन् । घटना कसरी भइरहेको छ भन्नेबारे भने अन्योल नै छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ बर्षीया महिलाको कपाल बिहीबार बिहान एक्कासी काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया महिलाको पछाडिको भागको कपाड पुरै काटिएको छ । यस्ता घटनाका कारण रुपन्देहीमा १५ जना बढी पीडित बनेका छन् ।

रुपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना हुँदै आएका छन् । उनीहरुको कपाल कैंचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । कपाल काटिएको देखेपछि बेहोस भएकी युवतीको अहिले भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले उनीहरुलाई मानसिक रोगसम्बन्धी औषधि दिइरहेको छ । महिलाको अवस्था सामान्य हुँदै गए पनि कपाल काट्ने व्यक्ति र समूहबारे केही खुलेको छैन ।

भारतमा पनि पटकपटक यस्ता घटना हुने गरेका छन् । भारतको हरियाणा र राजस्थानका ५० जनाभन्दा बढी पीडित भएका छन् । यस्तो रहस्यमय घटनामा वृद्धि भएसँगै प्रहरीसमेत तनावमा परेको छ । दिल्लीको छावला गाउँबाट शुरु भएको कपाल काट्नुको रहस्य अझै खुल्न सकेको छैन ।

रुपन्देही प्रहरीले भने महिलाको कपाल किराले काटेको दाबी गरेको छ । रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले कपाल काट्ने किरालाई बेथरीबाट समातेको दाबी गरे । अहिलेसम्म पीडित सबै महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएका मध्ये केहीले दोहोर्‍याएर आउने गरेको चिकित्सकले बताएका छन् ।

मानसिक रोगका कारण महिलाहरुले आफैंले कपाल काटेको हुन सक्ने युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग बिशेषज्ञ डा. सञ्जिव रञ्जनले आशंका व्यक्त गरे । धेरै महिलाको कपाल काटिन थालेपछि रुपन्देहीमा सन्त्रास फैलिएको छ ।

रहस्यमय घटना हुन थालेपछि फैलिएको सन्त्रास साम्य पार्न तत्काल अनुसन्धान गरी वास्तविकता पत्ता लगाउन जरुरी देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार