नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्ने बाटो खुला

काठमाडौं, १६ भदौ – दुर्इ सय पचास वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्ने बाटो खुला भएको छ । २०७४ सालदेखि सैनिक कमान्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिलासमेत प्रधानसेनापति बन्न सक्ने अवसर सिर्जना भएको हो ।

यो प्रावधानसँगै महिला सैनिकले सेनाको उच्च तहको नेतृत्व अवसर पाउने भएका हुन् । यो खबर रामसूधन तिमल्सिनाले आजको राजधानी दैनिकमा खबर लेखेका छन्।

नेपाली सेनामा स्टाफ कलेज उत्तीर्ण गर्न जटिल तथा चुनौतीपूर्ण छ । स्टाफ कलेज उत्तीर्णहरूले आन्तरिक तथा बाह्य सुरक्षा अवस्थाको मूल्यांकन गर्न, आन्तरिक योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने क्षमता अभिवृद्धि विकासमा भूमिका खेल्ने गर्छ ।

सैनिक संगठन निर्देशनालयका प्रमुख सेनानी इन्द्रकुमार रानाभाट महिला सैनिकलाई पुरुष अधिकृतसरह माथि जाने अवसर पाप्त भएको बताउँछन् । ‘सेनामा समावेशिता र महिला सहभागितालाई महŒव दिइएको छ । अब पुरुषसरह उच्च तहको नेतृत्व गर्न सक्नेछन्,’ उनले भने ।

यही वर्ष सेनामा महिलाका लागि महिलाकै नेतृत्वमा छुट्टै गुल्मसमेत स्थापना भएको छ । गोरखकाली महिला गुल्मको गुल्मपति मेजर सृष्टि खड्का छिन् । हाल उनको नेतृत्वमा सो गुल्ममा १ सय ४० महिला सैनिक रहेका छन् । सेनामा हाल ४ हजार ८ सय महिला सैनिक कार्यरत रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयका प्रमुख सेनानी बिमलराज शर्मा बताउँछन् । पुरुषको संगठनका रूपमा रहेको सेनामा महिला सैनिकको प्रवेशलाई सहज र सुरक्षित महसुस बनाउनका लागि लंैगिक आचरणसम्बन्धी निर्देशिका, २०७० लागू गरिएको छ ।

जसले सेनामा महिलाको प्रवेशलाई सहज बनाएको रानाभाट बताउँछन् । ‘महिलामैत्री वातावरण सिर्जना गर्नका लागि यो निर्देशिकाले महŒवपूर्ण भूमिका खेलेको छ,’ उनी भन्छन् । उसो त सैनिक सेवामा महिलाको प्रवेश २०१७ सालबाट नै सैनिक उपचारिकाको रूपमा भएको हो । २०२१ सालमा प्यारा फोहडर, २०२५ मा चिकित्सकका रूपमा महिलाको सेनामा प्रवेश भएको हो । प्राड (कानुन) का रूपमा २०५४ सालमा महिलाले सेनामा कार्य गरेका छन् । इन्जिनियर, कर्मचारी साधारण सेवातर्फ भने २०६० सालमा मात्र महिलाको प्रवेश भएको हो । साधारण अधिकृत २०६१ सालमा र वायुसेवातर्फ २०६७ सालमा महिलाको प्रवेश भएको देखिन्छ ।

हाल सेनामा सहभागी महिलामध्ये सबैभन्दा बढी सिपाहीमा छन् । कुल महिलामध्ये ५० प्रतिशत महिला सिपाहीमा रहेको र बिल्लादारमा २८ प्रतिशत रहेको रानाभाट बताउँछन् । उनका अनुसार अधिकृततर्फ ७ प्रतिशत, पदिकतर्फ ६ प्रतिशत, सैन्यमा ५ र फलोअर्सतर्फ कुल महिलामध्ये ५ प्रतिशत रहेका छन् ।

सेनामा समावेशिताका लागि महिला, आदिवासी, मधेसी, दलित, पिछडिएको क्षेत्रका लागि कोटा निर्धारण भएकाले पनि महिला सहभागिता वृद्धि हुँदै गएको हो । ‘कुल भर्नाको ४५ प्रतिशत समावेशिताका लागि छुट्ट्याइन्छ । त्यसलाई सय प्रतिशत मानेर महिलाका लागि २० प्रतिशत कोटा हुन्छ,’ रानाभाट भन्छन् । हाल सेनामा महिलाको सहभागिता ५ प्रतिशत रहेको छ । जनजाति ३४ प्रतिशत छन् भने मधेसीको सहभागिता १० प्रतिशत छ । दलित ७ र अन्य ४१ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार