वीरगञ्ज, १९ भदौ – वीररगञ्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अडेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेद्वार बनाएको छ । अन्सारी वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । उनी कलेजका प्रमुख लगानीकर्ता पनि हुन् ।
बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारीले मेयरका उम्मेद्वार भएपछि आफूले कलेजको प्रबन्ध निर्देशक पद छोडिसकेको बताएका छन् ।
कलेज सञ्चालक बोर्डका सदस्यसमेत रहेका अन्सारी मेयरको उम्मेद्वार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपािलकाले कर नतिरेको विषयलाई लिएर स्थानीय बासिन्दाले टिप्पणी गर्न थालेका छन् ।
तत्कालीन उपमहानगरपालिका कार्यालयले पटकपटक ताकेता गरे पनि नेसनल मेडिकल कलेजले अटेरी गरी घरजग्गा कर नतिरेको हो । महानगरपालिका कार्यालयका अनुसार नेसनल मेडिकल कलेजले तिर्नुपर्ने ९ करोड २ लाख ४७ जार ९ सय ९६ रुपैयाँ ४३ पैसा घरजग्गाबापतको कर बक्यौता छ । –नागरिक दैनिक