रौतहटमा उम्मेदवार मनोनयनकै देखी ‘भोजभतेर’ सुरु

काठमाडौं,२४ भदौ -असोज २ मा हुने स्थानीय तहको निर्वाचन आफ्नो पक्षमा पार्न रौतहटका उम्मेदवारहरु जोडतोडले लागेका छन् । घाम–पानी केहीको पर्बाह नगरी उम्मेदवारहरु घरदैलौ तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । विगतका निर्वाचनहरुमा मतदाता खुलेर प्रस्तुत हुने गरेका भए पनि यसपटक कसैसँग खुलेर कुरा गर्न चाहँदैनन । स्थानीय मतदाताहरु सबै उम्मेदवारका कुरा सुनिरहेका छन तर मत कसलाई दिने बारेमा बताउँदैनन । पार्टी कार्यकर्ताबाहेक स्थानीय मतदाता पनि अहिले ‘पर्ख र हेर’को नीति लिएर बसेका छन । घर–दैलौमा आउने सबै उम्मेदवारहरुलाई आश्वासन मात्रै बाँडिरहेका छन्, रौतहटका मतदाताहरुले ।
मतदाताहरुमा चेतनाको विकास भएको र उनीहरु अब पहिले जस्तो लहड वा अरुले भनेकै भरमा कसैलाई मत दिने पक्षमा नरहेको गरुडाका स्थानीय शिक्षक वीरेन्द्र ठाकुर बताउँछन । ‘कुनै पार्टीको पक्षधर वा फलानो पार्टीलाई भोट दिन्छौं भनेर कसैले भन्दैनन्’, शिक्षक ठाकुर भन्छन् “मतदाताले कसैलाई प्रष्टरुपमा कुरा नखोल्दा अन्तिम समयमा मौन मतहरुले परिणाममा ठूलो असर पार्ने देखिन्छ ।’ उम्मेदवारहरुले मतदाता रिझाउन भोज–भतेर र खर्च गरिरहेका छन् । स्थानीय मतदाता पनि हरेक उम्मेदवारले आयोजना गरेको भोजमा सहभागी हुन्छन् तर भोज खानेहरुले तिनै उम्मेदवारलाई मत दिन्छन् भन्ने ग्यारेन्टी छैन । परोहा नगरपालिकाका एक उम्मेदवार भन्छन्, “पहिलेको चुनावभन्दा यसपटक धेरै पैसा खर्च हुन्छ, तैपनि ढुक्क हुन सक्ने अवस्था छैन ।’
मधेश आन्दोलनको उत्कर्ष बिन्दु रहेको रौतहटमा यसपटक मधेसवादी दलको पकड बलियो भएको एक थरीको विश्लेषण छ भने अर्का थरी स्थानीय मधेसवादी दलले सत्ता र पदका लागि मधेसी जनतालाई पटकपटक धोका दिएको तर्क गरिरहेका छन् । जिल्लामा टिकट वितरणको तालमेल नमिल्दा काग्रेंस कमजोर भएको छ भने सदरमुकाम गौरमा माओवादीले प्रमुख पद खाली छोडेको छ ।
मनोनयन दर्ताको दिन मात्रै रौतहटमा ५०० क्वीन्टलभन्दा बढी कुखरा र माछाको भोज विभिन्न उम्मेदवारहरुले आ–आफ्नो क्षेत्रमा गरेका थिए । यसरी मनोनयन दर्ताकै दिन देखि शुरु भएको भोजभतेर अझै पनि जारी रहेको छ । १६ नगरपालिका र २ गाँउपालिका रहेको रौतहटमामा ८२१ पदका लागि झन्डै चारहजार उम्मेदवारले मनोनयन दर्ता गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार