थाइल्याण्डमाथि नेपालको शानदार जित, थाइल्याण्ड २५५ रनले पराजित

थाइल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौं, २६ भदौ – एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । थाइल्याण्डलाई २५५ रनको भारी अन्तरले पराजित गर्दै नपालले प्रतियोगितमा शानदार सुरुवात गरेको हो । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।

एकपछि अर्को विकेट लिएको नेपाली बलरसामु थाइल्याण्डका ब्याट्सम्यान निरिह सावित भए । थाइल्याण्डमाथि नेपालले उत्कृष्ट बलिङ गर्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने एक्लैले ७ विकेट लिए ।

पहिलो ओभरको पहिलो बलमा नै विकेट लिएको नेपालले दोस्रो ओभरमा पनि विकेट लिएको थियो । नेपालका लागि १.१ ओभरमा किशोर महत्तोले नेपालका लागि दोस्रो विकेट लिएका थिए । किशोरले कप्तान अगम संजय शाहलाई १ रनमा आउट गरिदिएका हुन् ।

नन्दन यादवले पहिलो ओभरको पहिलो बलमा थाइल्याण्डका ब्याट्सम्यानलाई आउट गराएका थिए । त्यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले पनि १ विकेट लिए ।थाइल्याण्डका कुनै पनि खेलाडीले ८ रनभन्दा बढि बनाउन सकेनन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले थाइल्याण्डलाई २८२ रनको चुनौति दिएको छ । नेपालले उत्कृष्ट ब्याटिङ गर्दै थाइल्याण्ड सामु ठूलो लक्ष्य दिएको हो ।

मलेसियाको अमान क्रिकेट मैदानमा नेपालका लागि अनिल कुमार शाहले ९१ रन बनाए । त्यस्तै, नेपालका लागि प्रनित थापामगरले पनि ५० रनको योगदान दिए । नेपालका लागि सन्पि सुनारले ३२, रोहित कुमार पौडेलले २८, कप्तान दिपेन्द्रसिंह ऐरी र पवन सर्राफले समान २२ रनको योगदान दिए ।

नेपालले दोस्रो खेलमा सेप्टेम्बर १३ मा भुटानविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेलमा सेप्टेम्बर १४ तारिखमा सिंगापुरविरुद्ध खेल्नेछ । समूह बी मा चीन, मलेसिया, हङकङ र म्यानमार छन् । छनोटको फाइनलमा पुग्ने दुई टोली एसिया कपको लागि छनोट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार