https://subisu.net.np/fiter-packages/fiber/new-plan/premium-package

प्रदेश दुर्इमा अाज राति १२ बजेदेखि मौनअवधि सुरु, के–के गर्न पाइँदैन ?

मतदाता परिचयपत्र भदौ ३०, ३१ र असोज १ मा

काठमाडौं, ३० भदौ — स्थानीय तहको तेस्रो चरणमा प्रदेश नम्बर–२ मा आगामी असोज २ गते हुने निर्वाचनका लागि भदौ ३० गते शुक्रबार राति १२ बजेपछि निर्वाचनको मौनअवधि सुरु हुनेछ ।

मौनअवधि सुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेल राजनीतिक दल, दलतर्फका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सन्चारजगत्ले कुनैपनि प्रकारका चुनावी प्रचार–प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा मौनअवधिमा निर्वाचन प्रचार–प्रसार गर्न र मत माग्न नहुने तथा मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार–प्रसारका सामग्री हटाएको हुनुपर्ने व्यवस्था छ ।

एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार–प्रसार गर्न नहुने तथा उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्नअंकित पहिरन, टोपी, स्टिकर, प्रतीकचिह्न, झोला, गम्छा, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

मौनअवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचार–प्रसार हुनेगरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने प्रवक्ता ढकालले जानकारी दिए ।

निर्वाचन आयोगले तेस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाता छन् ।

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रुपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयमसेविका परिचालन गरिएको छ ।

http://jagdambacement.com/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार