सानदार जितसँगै नेपाल फाइनल प्रवेश, उपाधि भिडन्त हङकङसँग

काठमाडौं, ३१ भदौ – मलेसियाविरुद्ध सानदार जित निकाल्दै नेपाल एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई १० विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । उपाधिका लागि अब नेपालले हङकङसँग भिडन्त गर्ने छ ।

शनिबार नै भएको अर्को सेमिफाइनलमा हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको छ । किनरारा ओभलमा घरेलु टोली मलेसियाले दिएको १२२ रनको लक्ष्य नेपालले २३ ओभर १ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालको जितमा ओपनरद्वय सन्दिप सुनार र आसिफ शेखले अर्धशतकीय पारी खेले । सन्दिप ५१ र आसिफ ५० रनमा अविजित रहे । दुबैले १२३ रनको साझेदारी गरे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ४२ ओभरमा अलआउट हुँदै १२१ रन बनाएको थियो । मलेसियाको लागि नलीन डी सिल्भाले ३९ तथा भिरनदिप जगजित सिंहले २५ रन बनाए । त्यस्तै महोमद शहरिलले १६ रन जोड्दा अम्मर हाजालनले १४ रन जोडे ।

मलेसियालाई कम स्कोरमा रोक्न नेपाली कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित मात्र २९ रन खर्चिए । त्यस्तै पवन सराफले २ तथा सन्दिप लामिछाने, शाहब आलम र किशोर महतोले समान एक एक विकेट लिए ।

छनोटको फाइनलमा पुगेसँगै नेपाल एसिया कपको लागि छनोट नजिक पुगेको छ । उपाधि जित्ने टोली अब आगामी नोभेम्बरमा हुने एसीसी यू–१९ एसिया कपको लागि छनोट हुने छन् । एसिया कपमा टेष्ट मान्यताप्राप्त टोली सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार