हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन, एसिया कपमा छानियो

काठमाडौं, १ असोज – नेपाल एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ। आइतबार मलेसियाको किन्नारा ओभलमा भएको फाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो।

हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ७६ रन बनाएको थियो ।

नेपाललाई च्याम्पियन बनाउन कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै प्रनित थापा मगरले अन्तिममा लगातार २ छक्कासहित १९ रनमा अभिजित रहे। सन्दिप सुनारले समान १९ रन बनाए। अनिलकुमार साह १६ रन बनाए

यसअघि हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने र सोहेब आलमले ३-३ तथा अनिल साह र दीपेद्र सिंह ऐरीले १-१ विकेट लिए। मित महर्जन र आसिफ शेखले हङकङका १–१ ब्याट्स्म्यानलाई रनआउट गरे।

आजको जितसंगै नेपाल पाचौँ पटक एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेको छ । एसिसीको यू–१९ प्रतियोगितामा नेपाल सातौं पटक फाइनलमा पुगेको हो।

यसअघि नेपालले ६ पटक फाइनलमा प्रतिस्पर्धा गरेको छ। ६ मध्ये नेपालले चार पटक उपाधि जितेको थियो भने २ पटक उपविजेतामै सीमित बनेको थियो।

LEAVE COMMENTS

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार