मधेसमा उल्लासमय मतदान, ७३ प्रतिशत मत खस्यो

पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम

काठमाडौं, २ असोज – प्रदेश नम्बर दुर्इका ८ जिल्लामा भएको तेस्रो चरणको १ सय ३६ स्थानीय तहमा भएको स्थानीय तहको निर्वाचनमा उल्लासमय मतदानको भएको छ । सबै जिल्लाहरुमा उल्लेख्य संख्यामा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले ७३ प्रतिशत मत खसेको जनाएको छ ।

आयोगको कार्यालय कान्तिपथमा सोमबार साँझ पत्रकार सम्मेलन गरी आयोगले प्रारम्भिक विवरणअनुसार ७३ प्रतिशत मत खसेको जनाएको हो । पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवले मतदान शान्तिपूर्ण, उत्साहजनक र व्यापक सहभागितापूर्ण भएको बताए ।

आयोगले छिट्फुट घटनाबाहेक अधिकांश स्थानमा मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको पनि जनाएको छ । १३६ स्थानीय तहमध्ये प्रायः सबै स्थानमा ७० प्रतिशतभन्दा माथि मत खसेको छ । सबैभन्दा बढी मतदान रौतहटमा ७५ प्रतिशत मत खसेको छ भने बारामा पनि ७५ प्रतिशत हाराहारीमै मतदान भएको छ ।

यस्तै, सप्तरीमा ६५ प्रतिशत, सर्लाहीमा ७० प्रतिशत, पर्सामा ७२ प्रतिशत, महोत्तरीमा ६५ प्रतिशत, सिराहामा ७० प्रतिशत र धनुषामा ७० प्रतिशत मत खसेको पनि निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, निर्वाचनकाक्रममा विभिन्न ठाउँमा गरी ३८ जना नक्कली मतदाता पक्राउ परेको र नियमविपरीत गतिविधि गर्ने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको पनि आयोगले जनाएको छ ।

आयोगले पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम आउने गरी व्यवस्थापकीय र प्राविधिक तयारी गरेको पनि दाबी गरेको छ । मतपेटिकाहरु मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याएपछि सोमबारै राति वा मंगलबार बिहानदेखि मतगणना सुरु गर्ने जनाइएको छ ।

यो निर्वाचनबाट प्रदेश नम्बर–२ का १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा ६ हजार ६२७ जना जनप्रतिनिधि चयन हुनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार