कांग्रेसको अग्रता कायमै, एमालेलार्इ पछि पार्दै दोस्रोमा फोरम

काठमाडौं, ४ असोज –प्रदेश नम्बर दुर्इका आठ जिल्लामा सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय निर्वाचनको मतगणना जारी छ । जसमा मतगणनाको सुरुदेखि नै नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । कांग्रेसले अहिलेसम्म ३४ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेलार्इ पछि पार्दै संघीय समाजवादी फोरमले २७ स्थानमा अग्रता लिएको छ ।

मंगलबार एमाले दोस्रोमा देखिए पनि बुधबार भने संघीय समाजवादी फोरम दोस्रो स्थानमा आएको छ । एमालेको २२ स्थानमा अग्रता छ भने माओवादी केन्द्रले १७ स्थानमा अग्रता लिएको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टीले १४ स्थानमा अग्रता लिएको छ ।

निर्वाचनको मतगणनामा २ सय ९८ गणक टोली खटिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ ।

यसैबीच, रौतहटको गरुडा नगरपालिका-३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन् ।

सो विषयमा राजनीतिक सहमति कायम भएलगत्तै उक्त स्थानीय तहमा मतगणना पुनः शुरु हुने बताइएको छ ।

त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना शुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य शुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार