बुद्ध लामाले हात पारे पहिलो नेपाल आइडलको उपाधि

काठमाडौं, ७ असोज – अन्तराष्ट्रिय स्तरको पहिलो प्रस्तुति गायन टेलिभिजन रियालिटी सो पहिलो नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन् । कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा पोखरा नयाँबजारका २० वर्षीय बुद्ध लामा पहिलो नेपाल आइडल घोषित भएका हुन् ।

उर्लालीबारी मोरङका निशान भट्टराई दोस्रो र झरुवारासी ललितपुरका प्रताप दास तेस्रो भएका छन् । उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।

यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरेका हुन् । निशानले ३ करोड ५० लाख ८६ हजार २ सय २३ भोट प्राप्त गरे भने प्रतापले १ करोड ३२ लाख ५१ हजार ८ सय ४९ भोट पाए।

फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे। विजेता एवं अन्य सहभागीलाई हौसला प्रदान गर्न महजोडी कतार पुगेका थिए। नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए। विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार