काठमाडौं, ११ असोज – आफ्ना माग पूरा गर्न सरकारले पहल नगरेको आरोप लगाउँदै चिकित्सकहरूले दसैंमा समेत आन्दोलन जारी रहने बताएका छन् । चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले भने, ‘सरकार असंवेदनशील भएकाले हामीले यस्तो निर्णण लिनुपर्यो ।’ स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सकको सुरक्षा प्रतिबद्घता गर्न नसकेको उनले आरोप लगाए ।
आन्दोलनका कारण देशभरिका अस्पताल, मेडिकल/डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायत स्वास्थ्यसंस्थाका आकस्मिकबाहेक सबै सेवा ठप्प छन् । आन्दोलनअघि नै समय तोकिएका बिरामीको शल्यक्रियालगायत उपचारसमेत हुन सकेको छैन । नियमित फलोअपमा आउनुपर्ने दीर्घरोगीले पनि उपचार पाएका छैनन् ।
‘पूर्वनिर्धारित शल्यक्रियालगायत उपचार बहिरंग सेवामार्फत हुने भएकाले पूरै प्रभावित छ,’ त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दीपक महराले भने, ‘बन्दभन्दा पहिला भर्ना भएका बिरामी हाम्रा नैतिक जिम्मेवारी भएकाले उहाँहरूको उपचार भइरहेको छ ।’ दसैंका बेला सामान्यत: बिरामीको चाप कम हुने र दसैंका लागि बुधबारदेखि आइतबारसम्म सरकारी अस्पतालका बहिरंग सेवा बन्द हुने पनि उनले बताए । – कान्तिपुर दैनिक