आज बडादशैं, मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदै

उत्तम साइत ११ बजेर ५५ मिनेटमा

काठमाडौं, १४ असोज – आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।

घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरुपुरोहित तथा मान्यजनको हातबाट नवदूर्गा भवानीको प्रसादको रुपमा रातो टीका, जमरा तथा प्रसाद थापी यस, ऐश्वर्य तथा दीर्घायु प्राप्त होस् भनी आशिर्वाद लिने गरिन्छ ।

समस्त नेपालीजनले विजयादशमीलाई एकता, भ्रातृत्व र प्रेमको रुपमा लिने गरेका कारण पनि सबै आफन्तजन एकै स्थानमा भेला भएर टीका लगाउने प्रचलन छ । मान्यजनको हातबाट दशैंको टीका लगाउन देश विदेशबाट समेत मानिसहरु आफ्नो गाउँघरमा पुग्ने गर्दछन् । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अन्य फूलको सट्टा घटस्थापनाको दिन पूजा कोठामा राखिएको समृद्धिको प्रतीक पहेंलो जमरा प्रयोग गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।
त्रेता युगमा यसै दिन भगवान् रामले असत्यको प्रतीकका रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ । दशैंको टिका कोजाग्रत पूर्णिमासम्म पनि लगाउने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार