प्रधानमन्त्री देउवाले गुरुको हातबाट टीका लगाए, नेताहरुका दशैं (फोटो फिचर)

प्रचण्ड निवासमा बर्षौपछि दशैं

काठमाडौं, १५ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो गुरु विनोद सापकोटाको हातबाट दशैंको टीका र जमरा ग्रहण गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेर ५५ मिनेटको शुभसाइतमा उनले सापकोटाको हातबाट टीका ग्रहण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

त्यसपछि उनले पत्नी आरजु राणा देउवालाई टीका जमरा लगाइदिएका थिए । उनले आरजुलाई टीका लगाइदिएर जमराको माला पहिर्याइदिए । प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट पनि टीका ग्रहण गरे ।

अपरान्ह चार बजेपछि मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारी र सर्वसाधारणलाई देउवाले टीका लगाइदिएको उनको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । नेताहरु बालकृष्ण खाँड, उदयसमशेर जबरा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलगायत उच्चपदस्थ अधिकारीहरु प्रधानमन्त्री देउवासँग टीका लगाउन बालुवाटार पुगेका थिए ।

शितल निवासबाट बालुवाटारमै फर्किएर देउवाले सरकारका मन्त्रीहरु, सुरक्षा अंगका प्रमुखहरु, पार्टीका नेता, कार्यकर्ता लगायतलाई टीका लगाइदिएका थिए ।

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि वर्षौपछि दशैंको टीका लगाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष भब्य रुपमा दशैं मनाएका छन् । सबै परिवारसँगै बसेर प्रचण्डले यो वर्षको दशैं मनाएका हुन् ।

जनयुद्धकालदेखि दशैंको टीका बहिष्कार गर्दैै आएका प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पनि दशैंको टीका लगाएका थिएनन् । यसपाली परिवारका सदस्यलाई टीका लगाइदिने मात्र होइन, आफूले पनि दशैंको टीका जमरा ग्रहण गरेका छन् । झण्डै दुई दशकपछि उनले दशैंको टीका लगाएका हुन् ।

प्रचण्डले लाजिम्पाटस्थित प्रचण्ड निवासमा पारिवारिक जमघटका साथ प्रचण्डले यो वर्षको दशैं भब्य रुपमा मनाएका हुन् । प्रचण्डले आफू भन्दा मान्यजनको हातबाट टीका लगाएको तस्विर प्रचण्डपुत्र प्रकाश दाहाल सामाजिक सञ्जाल फेसबुकबाट नै सार्वजनिक गरेका हुन् ।

यसैगरी, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बुबा भोजप्रसाद भट्टराईको हातबाट विजयादशमीको टीका लगाए । डा. भट्टराईले आफ्नो ट्वीटर र फेसबुकमा टीका लगाएको तस्वीर राख्दै ‘हामी सबैको भलो होस्, देश र जनताको भलो होस्, नेपाल हाम्रै पालामा समृद्ध बनोस्’ भन्ने कामना गरेका छन् ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि हिन्दु संस्कारअनुसार शनिवार दशैंको टीका जमरा ग्रहण गरेका छन् । उनले आफ्ना दाजु बन्धुराज पौडेलको हातबाट टीका ग्रहण गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दाजु नेत्रबहादुर थापा र भाउजु अनिता थापाको हातबाट टीका ग्रहण गरे । उनले परिवारका अन्य सदस्यलाई टीका लगाइदिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार