काठमाडौं, १६ असोज – एक वर्षअघि दशगजामा भारतले बाँधेको बाँध भत्काउने नेपाली नायकमाथि अहिले भारतले प्रतिशोध लिएको छ। दशगजा झडप आन्दोलनका अगुवा देवनारायण यादवलाई भारतले उनका छोरासहित नियन्त्रणमा लिएर अमानवीय व्यवहार देखाएको हो।
भारतीय प्रहरीले उनी र उनका छोरालाई नियन्त्रणमा लिएर डोरीले बाँधी नियन्त्रणमा राखेको छ। भारतले एकतर्फी बाँध बाँध्दै गर्दा यादवले भारतीयसंग लडेरै बाँध रोक्ने हिम्मत देखाएका थिए। एक वर्षअघि सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको तिलाठी बस्तीस्थित दशगजा भएर बग्ने खाँडो नदीमा भारतीयहरुले भारत सरकारको निगरानीमा बाँध बाँध्न आएका थिए। त्यतिबेला यादवले निकै ठूलो हिम्मत देखाइ ज्यानको बाजी लगाएरै बाँध रोक्ने काम गरेका थिए।
यादवलाई आइतबार भारतीय प्रहरीले भारतको वीरपुर जेलमा राखेको छ। भारतीय सीमा पार गरी शनिबार राति भारतको कुनौलीस्थित दूर्गा मन्दिरमा नाटक हेर्न गएका छोरा घर नफर्किएपछि उनलाई लिन गएका यादवलाई एक वर्षअघिको मुद्दा सम्झेर प्रहरीले पक्राउ गरेको हो।
भारतीय प्रहरीले अमानवीय व्यवहार देखाउँदै सिक्रीले बाँधेर बाबुछोरालाई नियन्त्रणमा लिएको छ। यसबारे भारत सरकारले थप केही बोलेको छैन। नेपाल सरकार यादवबारे बेखबरजस्तै देखिएको छ। चाडबाडको मौसममा भारतीय प्रहरीले गलत कदम उठाएको भन्दै विरोध भइरहेको छ। यादवलाई नेपाल सरकारले राष्ट्रवादको तक्मासमेत दिएको थियो। अहिले उनी विपद्मा पर्दा आवाज उठ्न सकेको छैन। दशैंको बिदा भएकाले पनि सरकारले कुनै कदम चाल्न नसकेको हो कि !