एमाले माओवादी एकता बहस: कसरी जुट्यो सहमति ?

काठमाडौं, १७ असोज – प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्र एउटै कम्युनिस्ट पार्टी बनाउन सकारात्मक बनेका छन् । यी दुई पार्टीबीच यस विषयमा औपचारिक रूपमै छलफल सुरु भएको छ । दुवै पार्टीका अध्यक्षसहितका शीर्ष नेतृत्व तहले नै एउटै कम्युनिस्ट पार्टी बनाउने विषयमा छलफल चलाएका छन् ।

तीन दिनयता शीर्ष तहमा चुनावी तालमेलदेखि पार्टी एकताका विषयमा केन्द्रित छलफलपछि दुवै पार्टी एकताकै तहमा पुगेका हुन् । दुई वामपन्थीबीच एकता हुने स्तरसम्मै छलफल चलेपछि राजनीतिक तहमा नयाँ तरंग पैदा भएको छ ।

यसबारे टुंगोमा पुग्न शीर्ष नेतृत्वबीच मंगलबार थप छलफल हुने माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए ।

‘दुवै पार्टी नेतृत्वका बीचमा छलफल गर्दै जाँदा तालमेल र पार्टी एकतासम्मकै प्रस्ताव बनेको हो’, नेता श्रेष्ठले भने, ‘पहिलेदेखि दुई पार्टीबीच छलफल चल्दै आएको थियो, अहिले त्यसले बढी मूर्तता पाउन लागेको हो । तर, टुंगोमा पुगिसकेका छैनौं । भोलि (मंगलबार) हामी दुवै पार्टीको शीर्ष तहमा छलफल गरेर एउटा टुंगोमा पुग्ने प्रयास गर्छौं ।’

पार्टी एकताकै लागि निर्णय लिन दुवै पार्टीले एकता संयोजन समितिसमेत गठन गर्ने भएका छन् । त्यसका लागि निर्णयमा पुग्न एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू माधवकुमार नेपाल र वामदेव गौतम अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू श्रेष्ठ र रामबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

आइतबार बसेको एमाले स्थायी समिति र माओवादी केन्द्रको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गरी निर्णयमा पुग्न जिम्मेवारी दिएको हो । – अन्नपुर्ण पोष्ट दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार