http://jagdambacement.com/

अध्यक्ष शरद गौचनको गोली हानी हत्या, हत्याको विरोधमा प्रदर्शन

गौचनको हत्या हामीले गरेका हौँ भन्दै प्रहरीलाई फोन

काठमाडौं, २३ असोज – नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिन–दहाडै गोली हानी हत्या गरिएको छ ।
सोमबार दिउँसो काठमाडौंको शान्तिनगर, खरिबोटस्थित घरबाट निस्केर अलि पर पुगेका गौचनमाथि दुईजना व्यक्तिले गोली हानी हत्या गरेका हुन् ।

गौचन चढेको गाडीको अगाडिबाट गोली हानिएको थियो । गौचनमाथि तीनओटा गोली हानिएको थियो । अस्पतालमा कार्यरत चिकित्सक तथा पूर्व निर्देशक डा विमल थापाले घाइते गौचनको अस्पताल ल्याइपु¥याउनु अघि नै मृत्यु भइसकेको जानकारी दिए । “एउटा गोली मुटु, अर्को कलेजो र तेस्रो गोली मुटु र कलेजोको बीचमा लागेको छ, अस्पताल ल्याउँदा उहाँको श्वासप्रश्वास चलेको थिएन” – डा थापाले भने ।

डा थापाका अनुसार गौचनको शरीरबाट दुईवटा गोली झिकिएको छ । एउटा गोली भेटिएको छैन । मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ ।

निर्माण व्यवसायीहरुले भने हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् । उनीहरुले हत्याको विरोधमा नयाँबानेश्वरमा चक्काजाम गर्दै प्रदर्शनसमेत गरेका थिए । गौचनको हत्यापछि उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ भने चारैतर्फका नाकाहरु ‘सिल’ गरेर चेकजाँच बढाइएको छ ।

गौचनको हत्या हामीले गरेका हौँ भन्दै प्रहरीलाई फोन
यसैबीच प्रहरीले हतियार र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । यता, घटनापछि निर्माण व्यवसायीहरुले बानेश्वरमा प्रदर्शन गर्नुका साथै यातायात अवरुद्ध पारेका थिए । प्रहरीलाई फोन गरेर एक व्यक्तिले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या आफूहरुले गरेको दाबी गरेका छन् ।

अननोन नम्बरबाट काठमाडौं प्रहरी प्रमुख एसएसपी रविद्र धानुकलाई फोन गरी एक व्यक्तिले हिसाब नमिलाएका कारण आफूहरुले हत्या गरेको बताएका हुन् । त्यसरी फोन गर्ने व्यक्ति गतवर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहका व्यक्ति भएको प्रहरीले बताएको छ ।

उक्त समूहले अध्यक्ष गौचनले हिसाब मिलाउन लोभ गरेका कारण हत्या गरेको जानकारी दिएर फोन राखेको थियो । तिवारीको हत्या रुपन्देही देवदहका मनोज पुनको समूहले गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार