धादिङमा बस दुर्घटना एकजनाको मृत्यु, ५३ घाइते, २२ को अवस्था गम्भीर

धादिङ, २४ असोज — धादिङको नीलकन्ठ नगरपालिका वडा नम्बर–१२ सांकोषस्थित पशुपतिडाँडानजिकै मंगलबार एक यात्रीबहाक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा अरु ५३ जना घाइते भएका छन् । गम्भीर घाइते भएका २२ जनालाई उपचारका लागि काठमाडौं लगिएको छ । अरु घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा गंगाजमुना गाउँपालिका वडा नम्बर–३ का ५० वर्षीय होमबहादुर घले रहेका छन् । गम्भीर घाइते भएका घलेको उपचारका लागि काठमाडौं लगिँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर–३ छेलाङबाट मंगलबार दिउँसो सदरमुकाम धादिङबेसी आउँदै गरेको बा३ख ४७८ नम्बरको बस अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेर रुखको कापमा अड्किएको थियो ।

बस तीव्रगति र क्षमताभन्दा बढी यात्री रहेका कारण दुर्घटनामा परेको प्रारम्भिकरुपमा देखिएको प्रहरीको भनाइ छ । घाइतेहरुको प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार