काठमाडौं, २७ असोज – सञ्चालनमा नरहेको निजी क्षेत्रको अन्तराष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजले नेपाल वायुसेवा निगमको डेढ बर्षदेखि ग्राउन्डेड एउटा ठूलो बोइङ जहाज खरिद गरेको छ ।
बिबी एयरवेज गैरआवसीय नेपाली व्यवसायी भवन भट्टको टिबिआई ग्रुपअन्तर्गतको कम्पनी हो । बिबीले कम्बोडियाको टोन्ले एयरलाइन्ससँग एकथान ‘बोइङ ७५७-२००’ सिरिजको जहाज भाडामा लिई २०६९ भदौ २८ गतेबाट अन्तराष्ट्रिय उडान सुरु गरेको थियो ।
तर, सञ्चालनको तीन महिनामै सबै उडान बन्द गरेको थियो । पाँच बर्षपछि फेरी अन्तराष्ट्रिय उडान गर्ने उदेश्य लिएर बिबीले वायुसेवा निगमको जहाज तीन दशक पुरानो भए पनि खरिद गरेको हो ।
बिबीले १४ लाख ६० हजार अमेरिकी डलर (१५ करोड १८ लाख ४० हजार रुपैयाँ) मा जहाज खरिद गरेको हो । — नागरिक दैनिक