कमल थापा उपप्रधानमन्त्री नियुक्त, ३ मन्त्री र ३ राज्य मन्त्री थपिए

सरकार विस्तार प्रति वाम गठबन्धन आक्रोषित

काठमाडौं, २७ असोज – प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा ८ जना थपेका छन् । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री नियुक्त गरी शुक्रबार देउवाले मन्त्रीपरिषद् विस्तार गरेका हुन् । उपप्रधानमन्त्री थापालाई गृहमन्त्री बनाउने भनिए पनि मन्त्रालय तोकि सकिएको छैन ।

यस्तै राप्रपा नेताहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापा पनि विनाविभागीय मन्त्री नियुक्त भएका छन् । कुन्ती शाही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । उपप्रधानमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहण शनिबार गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट संख्यामा कुरा मिलेपछि राप्रापाले केही दिनअघि सरकारलाई समर्थन गर्ने निर्णय गरेकाे थियाे । राप्रपा प्रजातान्त्रिकले यसअघि नै सर्मथन गर्दै सरकारमा सहभागी भएको थियो।

संघीय समाजवादी फोरम र राजपा समेत सत्तारुढ गठबन्धनमा सहभागी भएपछि सरकार ३०२ सांसदको समर्थनमा पुग्ने आँकलन गरेर थापालाई सरकारमा लगिएको हो।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र मुख्य विपक्षी दल नेकपा एमालेसँग एकीकरणमा जुटेपछि प्रधानमन्त्री देउवाले नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

सरकार विस्तार प्रति वाम गठबन्धन आक्रोषित

वामपन्थी गठबन्धनमा आबद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचन घोषणा भइसकेको अवस्थामा सरकार विस्तार गर्ने निर्यण गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले गलत कदम चालेको भन्दै आक्रोस पोखेको छ ।

सरकारमा सहभागी प्रमुख सत्तारुढ दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुडे बल प्रयोग गरेर राप्रपालाई सरकारमा ल्याउनु गलत निर्णय भएको प्रतिक्रिया दिएका छन् । ‘सत्तारुढ दल माओवादीसँग कुनै छलफल नै नगरी सरकार विस्तार गर्ने जुन काम भएको छ । त्यो गलत र अनुपयुक्त निर्णय हो,’ उनले भने।

निर्वाचन आयोगले निर्वाचन घोषणा भइसकेको अवस्थामा सरकार विस्तार गर्नु आचारसंहिता विपरित भएको भनेर सच्याउन यसअघि नै पटक पटक निर्देशन दिँदा पनि त्यसलाई अटेर गर्दै मुडेबलको प्रयोगमा प्रधानमन्त्री देउवाले मन्त्री थपेको आरोप उनले लगाए । माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरु सरकारबाट फिर्ता हुने वा के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार