काठमाडौं, २९ असोज – रुपान्तरित संसदको अन्तिम बैठक शनिबार बसेको छ । यो बैठकमा कुनै विजनेश थिएन तर, शीर्ष नेताहरुले विदाई सम्बोधन गरेका छन् ।
बैठक अघि सभामुख ओनसरी घर्ती मगरसहित सांसदहरुले सामूहिक फोटो खिचाएका छन् । सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग पनि फोटो खिचाइन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओली छुटे । उनी पुग्दा फोटो सेसन चलिरहेको थियो र एमाले, माओवादी र कांग्रेसका शीर्ष नेताहरु पनि त्यहाँ थिए ।
ओलीले केहीबेर त पर्खिए । तर, कसैले पनि ठाउँ छाडेनन् । जतिबेला सभामुखले ओलीलाई बस्ने ठाउँ बनाइन्, त्यतिन्जेल उनी एमाले सांसदहरु भएतिर गइसकेका थिए ।