काठमाडौं, २९ असोज – दस दिनदेखि अनशनरत प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राखी तेह्रौँ अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रँदै जान थालेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
‘उनलाई निरन्तर छाती दुख्ने समस्या देखिएको छ,’ केसीको उपचारमा संलग्न मेडिकल टिमकी संयोजक डा दिव्या सिंहले भनिन्, ‘यसबाट हामी चिन्तित बनेका छौँ । उनको स्वास्थ्यमा गम्भीरता नदेखाए कुनै पनि वेला जे पनि हुन सक्छ ।’
डा केसी १० दिनदेखि चिकित्सा शिक्षा विधेयक संसद्बाट पास गराउनुपर्ने माग राखेर अनशनमा छन् । संसद्को आयु शनिबार रातिदेखि सकिएको छ । संसद् नै नरहेको अवस्थामा आफ्नो आन्दोलनलाई कसरी अगाडि बढाउने भन्नेमा केसीले कुनै निर्णय गरेका छैनन् ।